अभिनेता अनमोल केसीले छाडे चलचित्र ‘हनी बनी’

एजेन्सी

सोमबार, १९ बैशाख २०७९, १२ : ०९
अभिनेता अनमोल केसीले छाडे चलचित्र ‘हनी बनी’

काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र ‘हनी बनी’  छाडेको छन् । गत महिना यो चलचित्रमा अनुबन्धित भएर पारिश्रमिक स्वरूप पेस्की रकमसमेत लिएका उनले यो फिल्ममा अब काम नगर्ने भएका छन् ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । आफ्नो फिल्मबाट अनमोल केसी बाहिरिएको उनले पुष्टि गरेका छन् । फिल्मको चरित्रमा आफूले न्याय गर्न नसक्ने भन्दै अनमोल बाहिरिएको निर्देशक भट्टराईले बताएका छन् ।

छायांकन जाने बेलामा अनमोल केसीले फिल्म छाडेपछि निर्देशक भट्टराई अर्को अभिनेताको खोजीमा छन् । बेलायतमा छायांकन गरिने यो चलचित्रका लागि बेलायत जान अनमोलको भिसासमेत लागिसकेको थियो । तर, आफूले फिल्म छाड्नुको कारण अनमोलले बताएका छैनन् ।

यो फिल्मबाट अभिनेत्री सारा सिरपाली बाहिरिएकी छन् । छायांकनका लागि साराले बेलायतको भिसा पाइनन् । सोही कारण उनी बाहिरिनुपरेको बताइएको छ । फिल्मको नायक नायिका चाँडै चयन गरेर यही बिहीबार छायांकनमा जाने निर्देशक भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस