आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

पत्रपत्रिकाबाट

सोमबार, १९ बैशाख २०७९, ०७ : ५५
आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त हुन गइरहेको आईजीपी पदमा बढुवामार्फत पदपूर्ति गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनका प्रमुखको ३० वर्षे सेवा अवधि आइतबार राति सकिँदै छ ।

नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकलाई सोमबार बिहान पौने ९ बजे गृहसचिवबाट दज्र्यानी चिह्न प्रदान गरिँदै छ । सोमबारदेखि नै दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले पदीय जिम्मेवारी वहन गर्नेछन् । बढुवामा सशस्त्र प्रहरी महानिरीक्षकको नियुक्तिमा कुनै विवाद नआएको भए पनि नेपाल प्रहरीको नियुक्ति भने विवादित बनेको छ ।

रोलक्रममा तेस्रो नम्बरमा रहेको र पहिलो नम्बरका एआईजी विश्वराज पोखरेलभन्दा १६ महिनापछि एआईजी बनेका सिंहलाई महानिरीक्षक नियुक्त गरेको भन्दै पोखरेल र दोस्रो वरीयताका सहकुलबहादुर थापाले अदालतको ढोका ढकढ्याकाउने बताइसकेका छन् ।

तर, प्रहरी नियमावली, २०७१ को नियम ४१ मा एआईजीमध्येबाट सरकारले चाहेको व्यक्तिलाई महानिरीक्षक बनाउन सक्ने उल्लेख छ । नियमावलीको नियम ४१ मा यस्तो व्यवस्था छ, ‘यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व वहन गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

नेपाल प्रहरीको महानिरीक्षकको दौडमा योपटक चार जना थिए– पोखरेल, थापा, सिंह र रवीन्द्र धानुक । यी चारै जना एआईजी १२ चैत २०४९ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।

विगतदेखिलाई समीक्षा गर्ने हो भने एक नम्बरमा रहेका एआईजी पोखरेलको ‘जम्प’ अप्रत्यासित देखिन्छ । प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गर्दा उनी १६ नम्बरमा थिए । जबकि त्यसबेला अहिले महाननिरीक्षक नियुक्त सिंह एक नम्बरका इन्स्पेक्टर थिए । डीएसपीमा बढुवा हुँदा सिंह एक नम्बरमै बढुवा भएका थिए । पोखरेल भने १६ बाट १८ मा पुगेका थिए । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस