संरक्षित स्थानीय जातका गाईलाई औषधि उपचार

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १५ : १३
संरक्षित स्थानीय जातका गाईलाई औषधि उपचार

चितवन । चितवनको भरतपुर–१ वागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका स्थानीय जातका गाईहरुको उपचार तथा औषधि र भिटामिन वितरण गरिएको छ । आज (शनिबार) परेको विश्व भेटेरिनरी दिवस २०२२ को अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले वागीश्वरीमा संरक्षित स्थानीय जातका गाईहरुको औषधि उपचारका साथै भिटामीन वितरण गरिएको हो । 

भेटेरिनरी अस्पतालका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले गौ संरक्षण केन्द्रका सेविका योगी निरन्जन नाथलाई औषधि तथा भिटामिन प्रदान गरेका थिए ो । सो क्रममा नाथले गौ संरक्षण केन्द्रमा स्थानीय प्रजातिका २०० वटा गाईहरु संरक्षण गरिएको बताउनुभयो । संरक्षण केन्द्रमा रहेका गाईहरुलाई किर्ना र बर्खा लागेसँगैै खोरेतका कारण समस्या हुने गरेको नाथले बताए । 

सो कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख केसीले त्यहाँ संरक्षण गरिएका गाईहरुलाई खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गरिने बताए । “स्थानीय जातका गाईहरुलाई खोरेतबाट जोगाउनका लागि हामीले चाँडो पहल गर्छौँ” केसीले भन्नुभयो, “अबको एक हप्ताभित्र सबै गाईलाई पुग्नेगरी खोरेत विरुद्धको एफएमडी भ्याक्सिन प्रदान गर्छौँ ।” त्यस्तै गाईहरुलाई किर्नाबाट जोगाउनका लागि समेत डिपिङ ट्याङ्की राख्नका लागि पहल गर्ने केसीले बताए । 

सो कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले स्थानीय जातका गाईको बहुउपयोगिता रहेको भन्दै वागीश्वरीमा गाई संरक्षण हुनु सकारात्मक भएको बताए । त्यहाँ रहेका गाईहरुलाई खानाको समस्या भएको आफूले जानकारी पाएको उल्लेख गर्दै घाँस रोप्ने ठाउँ बनाएको खण्डमा आफूले सुपर नेपियर जातको ४० हजार घाँसको बीउ निःशुलक उपलब्ध गराउने बगालेले बताए । स्थानीय प्रजातिको गाईको दूध, गहुत तथा गोबर धार्मिक प्रयोजनका लागि मात्रै प्रयोग नभएर औषधीय गुणसमेत हुने गरेको बगालेको भनाइ थियो । 

भेटेरिनरी पेसाको पुनरुत्थान तथा सुदृढीकरणका लागि संरक्षित गाईहरु भएको स्थानमा पुगेर विश्व भेटेरिनरी दिवस मनाइएको पशु विकास अधिकृत रामचन्द्र आचार्यले बताए । वागीश्वरीमा रहेका गाईहरुको स्वास्थ्य उपचारपछि नाम्ले, माटे र जुकाविरुद्धको औषधि (अलबेन्डाजोड), कलेजोलाई फाइदा गर्ने (लिभर टोनिक) औषधि तथा दूध उत्पादन बढाउने भिटामिन, क्याल्सियम र सुपर नेपियर जातको घाँस गौ संरक्षण केन्द्रलाई प्रदान गरिएको आचार्यले बताए । 


 

प्रतिक्रिया दिनुहोस