'ए मेरो हजुर ४' को कमाइ ५ करोडमाथि

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १३ : ४६
'ए मेरो हजुर ४' को कमाइ ५ करोडमाथि

काठमाडाैँ । नेपाली फिल्म 'ए मेरो हजुर ४' ले करिब ५ करोडमाथिको कमाइ गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई हप्तामा ५ करोड ६० लाखमाथिको कारोबार गरेको हो। निर्माण टोलीका अनुसार फिल्मले पहिलो हप्ता ४ करोड १० लाख माथिको कमाइ गरेको थियो। दोस्रो हप्ता डेढ करोड कमाउँदै फिल्म ५ करोड ६० लाखको आँकडा छोएको हो।

योसँगै फिल्मले लगानीको लगभग दोब्बर कमाइ गर्दै कारोना महामारीपछि धेरै कमाउने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ। यसअघि फागुनमा प्रदर्शनमा आएको 'म यस्तो गीत गाउँछु २' ले ६ करोड माथिको कारोबार गरेको थियो। 

बहुप्रतिक्षित कन्नड फिल्म 'केजीएफ च्याप्टर २' सँग प्रदर्शन मिति जुधेको 'ए मेरो हजुर ४' ले पहिलो दिन नै ८८ लाख कमाइ गरेको थियो। साढे २ देखि तीन करोडमा बनेको फिल्मले पहिलो तीन दिनमा २ करोड ४० लाख माथिको बक्स अफिस कलेक्सन गरेको थियो। 

झरना थापाको निर्देशन तथा सुनील कुमार थापाको निर्माणमा बनेको फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ। तेस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले अझै पनि दर्शकको साथ पाइरहेको छ। 

प्रतिक्रिया दिनुहोस