काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा वर्तमान वडाध्यक्ष मुकुन्द रिजालसमेत रहेका छन् । उनले नेपाली काँग्रेसबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
यसैगरी एमालेबाट लक्ष्मीराम तुलाधर, नेमकिपाबाट राम महर्जन, जसपाबाट निर्मल महर्जनलगायतको उम्मेदवारी परेको छ । उम्मेदवारी दिने आधाजसो स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यसैगरी महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा १४ जना र सदस्य पदमा पनि विभिन्न पार्टीकासमेत गरी डेढ दर्जनबढीको उम्मेदवारी परेको छ ।
काठमाडौं महानगरपालिकाको महत्वपूर्ण वडा मानिने वडा नम्बर १६ मा मुख्यरुपमा काँग्रेस र एमालेबीच भिडन्त हुने बताइएको छ । यसअघिको निर्वाचनमा रिजालले एमालेका उम्मेदवारलाई पछि पार्दै विजय हासिल गरेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत रहेका रिजालले आफू विजयी भएमा अघिल्लो ५ वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामलाई निरन्तरता दिँदै अन्य केही नयाँ काम पनि गर्ने बताएका छन् । उनले आफू फेरि निर्वाचित भएमा खानेपानीको समस्या समाधानका लागि पहल गर्ने बताए ।
वडालाई तारमुक्त सहरको रुपमा विकास गर्ने, ट्राफिक जाम हटाउन पहल गर्ने, साइकल लेन बनाउने, मालबाहक ट्रकलाई बेलुकामात्रै प्रवेशको व्यवस्था मिलाउने, स्थानीयलाई शिक्षा स्वास्थ्य र रोजगारको प्रत्याभूति गर्ने, घरबहाल कर घटाउने, वृद्धहरुका लागि भत्ता भन्दा पनि जनप्रतिनिधिले महानगरले नै उनीहरुको सबै जिम्मा लिने आफ्नो एजेण्डा भएको बताए ।
सम्पदा क्षेत्रको रक्षा गर्ने, कला संस्कृतिको विकास र प्रवद्र्धन गर्ने, युवालाई स्वरोजगारको व्यवस्था गर्ने, हेरिटेज सहरको विकास गर्ने, बाइसधारामा स्वीमिङ पुलको व्यवस्था गर्ने, सार्वजनिक स्थलमा फिजिकल फिटनेस सेन्टरको व्यवस्था गर्नेलगायतको आफ्नो योजना रहेको पनि उनले बताए ।
यस्तै एमालेका उम्मेदवारले पनि उस्तै खालको एजेण्डा अघि सारेका छन् । उम्मेदवारहरूले मनोनयन दर्ता गराएसँगै आफ्नो चुनावी अभियानलाई अघि बढाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १३ : ०३
लेखकबाट थप