कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारूढ दलको गठबन्धन

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १३ : ३६
कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारूढ दलको गठबन्धन

काठमाडाैँ । कर्णालीमा सत्तारूढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएको छ। सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी दिइएको हो। सुर्खेत र रुकुम (पश्चिम) मा तालमेल नगरी मनोनयन दर्ता गराइएको र आठ जिल्लामा गठबन्धनको तालमेल भएको छ।

गठबन्धनभित्रै नेताहरूमा केही असन्तुष्टी भए पनि सिफारिस गरिएका उम्मेदवारहरूले आफ्ना उम्मेदवारी दर्ता गराइसकेका छन्। गठबन्धनको तालमेल विपरीत कार्य गर्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिइएको छ।हुम्लाका सात स्थानीय तहमध्ये माओवादीले चार स्थानीय तह (नाम्खा, सिमकोट, चखेली र ताँजकोट गाउँपालिका)मा अध्यक्षमा र खार्पुनाथ र सर्केघाटमा उपाध्यक्षमा उम्मेदवारी दिएको छ। नेपाली कांग्रेसका नेताले खार्पूनाथ, सर्केघाट र अदानचुली गाउँपालिकामा अध्यक्ष तथा नाम्खा र सिमकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

नेकपा एकीकृत समाजवादीका नेताले ले चखेंली, अदानचुली, ताँजकोट गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। हुम्लामा नगर पालिका छैनन्।जुम्लामा आठ स्थानीय तहमध्ये कांग्रेसले चार, माओवादीले तीन र समाजवादीले एक स्थानीय तहमा प्रमुख पदमा उम्मेदवारी दिएका छन्। तीमध्ये कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका, पातारासी गाउँपालिकामा अध्यक्ष तथा दुई गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिइएको छ।

त्यस्तै, माओवादी केन्द्रका तर्फबाट गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा अध्यक्ष पदमा र अन्य पाँचवटा पालिकामा उपप्रमुखका लागि उम्मेदवारी दिइएको छ भने समाजवादीका तर्फबाट हिमा गाउँपालिकामा अध्यक्ष र गुठीचौर गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी परेको छ।

मुगुका चार पालिकामध्ये कांग्रेसले दुई र माओवादी केन्द्र तथा समाजवादीले एक/एक वटा पालिका पाएका छन्। तीमध्ये मुगुको छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउँपालिकामा अध्यक्षका साथै अन्य मा दुई गाउँपालिकामा उपाध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी परेको छ। माओवादी केन्द्रका तर्फबाट खत्याड गाउँपालिका अध्यक्षसहित एक नगरपालिकामा उपप्रमुखामा उम्मेदवारी परेको छ भने समाजवादीका तर्फबाट सोरु गाउँपालिका अध्यक्ष तथा मुगुम कार्मारोग गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी परेको छ।

सोमबार दिउँसो सार्वजनिक भएको विवरणअनुसार कालीकोटका नौ स्थानीय तहमध्ये माओवादी केन्द्रले पाँचमा प्रमुख र चारमा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ भने कांग्रेसले दुई प्रमुख तथा तीन उपप्रमुख र समाजवादीले दुई स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

डोल्पामा आठ स्थानीय तहमध्ये कांग्रेसले एक पालिकामा प्रमुखमा मात्र उम्मेदवारी दिएको छ। बाँकी एक नगरपालिकासहित चार स्थानीय तहमा समाजवादी र तीन स्थानीय तहको प्रमुखमा माओवादीका तर्फबाट उम्मेदवारी परेको छ। कर्णालीका स्थानीय तहमध्ये धेरै डोल्पामा समाजवादीतर्फबाट उम्मेदवारी परेको देखिन्छ। सल्यानको दश स्थानीय तहमध्ये चारमा कांग्रेस, चारमा माओवादी केन्द्र र दुईमा समाजवादीका तर्फबाट प्रमुखमा उम्मेदवारी परेको छ।

त्यस्तै, गठबन्धनले जाजरकोटका सात स्थानीय तहमध्ये तीनमा कांग्रेस, तीनमा माओवादी र एकमा समाजवादीका तर्फबाट उम्मेदवारी परेको छ भने दैलेखमा ११ स्थानीय तहमध्ये छ मा कांग्रेस, दुईमा माओवादी केन्द्र र तीनमा समाजवादीका तर्फबाट उम्मेदवारी दिइएको कर्णाली प्रदेशको सत्तारुढ गठबन्धनले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

सुर्खेत र रुकुम (पश्चिम)मा मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति प्रयास गर्ने निर्णय सत्तारुढ गठबन्धनले गरेको छ। ती निकायमा गठबन्धनका सबै दलले आफ्नै तरिकाबाट सबै पालिकामा मनोनयन दर्ता गरेका हुन्। पालिका भागबन्डाका विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ।यी दुई जिल्लामा १६ गतेसम्म सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुङ्ग्याइएको हो। उम्मेदवारी दिने अन्तिम दिन भएपनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ।

माओवादीकेन्द्रका सुर्खेत जिल्ला संयोजक जीतबहादुर रानाले अहिले यसबारेमा छलफल नभएको बताए। माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो। माओवादीले सुर्खेतमा चिङ्ग्राड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफ्नोतर्फबाट नेतृत्व पाउनुपर्ने जिकिर गरेकामा कांग्रेसले यसमा सहमति जनाउन नसकेको हो।

प्रतिक्रिया दिनुहोस