काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैशाख २१ गतेदखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकको ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, ११ : २६
लेखकबाट थप