पहिलो दिन ३ प्रतिशत मात्रै उम्मेदवारी

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १४ : १३
पहिलो दिन ३ प्रतिशत मात्रै उम्मेदवारी

काठमाडौं ।स्थानीय तह निर्वाचनका लागि आइतबार देशभरीमा साढे ३ प्रतिशत उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। आइतबार बेलुकीसम्मको प्रारम्भिक तथ्यांकअनुसार १० हजार ५३३ उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए।

३५ हजार २२१ पदका लागि  कम्तिमा ३ लाखको उम्मेदवारी पर्ने अनुमान रहेको  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मनोनयन पत्र लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। तर, प्रमुख दलहरूले पनि पहिलो दिन उम्मेदवारी दर्ता गराउन सकेका छैनन्। 

खासरी प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमा गठबनधभित्र तालमेल मिलेको छैन। त्यसको असर देशभरिको निर्वाचन अधिकृतहरूको कार्यालयमा देखिएको छ। मनोनयन दर्ताका लागि आयोगले आइतबार र सोमबार २ दिनको समय दिएको छ।

विवरणअनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडाध्यक्षमा २ हजार ८२६ को उम्मेदवारी दर्ताको  भएको छ। वडा सदस्यमा ३ हजार १९०, महिला सदस्यमा १ हजार ९१, दलित महिला सदस्यमा १ हजार ३० गरी कूल वडा सदस्यमा १० हजार १०७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

त्यस्तै, सिन्धुलीमा आइतबार पालिका प्रमुखमा १३ जना र उपप्रमुखमा ३ जनासहित ६८ जनाको उमेदवारी दर्ता भएको छ।  हेटौंडामा ७ जनाले मेयरमा उम्मेदवारी दिएका छन्। विप्लव नेतृत्वको नेकपाका पूर्वजिल्ला इन्चार्ज योगेन्द्र कुमालले स्वतन्त्रतर्फबाट गोरखा नगरपालिकाका मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। गोरखा नगरपालिकाको मेयर पदमा कुमालसहित मंगोल नेसनल अर्गनाइजेसनका कृष्णबहादुर तामाङले र उपमेयर पदमा मन्सु गुरुङले पनि उम्मेद्वारी दर्ता गराएका छन्। वडाध्यक्ष र वडा सदस्यमा भने स्वतन्त्रसहित ६ जनाको उमेदवारी परेको केसीले बताए।

त्यसैगरी, मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाहेक ४ स्थानीय तहमा कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन नसकेको मुख्य निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ। लोमान्थाङ गाउँपालिकामा भने कांग्रेसका  २३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेको लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताए। जनकपुरधाम उपमहानगरपालिको नगरप्रमुख पदमा ८ जनाले उम्मेदवारी दिएका छन्। विभिन्न पदमा जम्मा १२७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मेयर पदमा नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १÷१ गरी दलका तर्फबाट २जनाले र स्वतन्त्रबाट १० जनाले मनोनयन पत्र दर्ता गराएका हुन्।

त्यसैगरी भरतपुर महानगरपालिकाको प्रमुख पदमा साना दलले मात्रै उमेदवारी दर्ता गरेका छन्। पहिलो दिन ११ जनाले मेयर र ३ जना उपमेयरमा मनोनयन दर्ता गराएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्ती मगरले उम्मेदवारी दर्ता गरेका  छन्। नुवाकोटमा विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ। 

त्यसैगरी, पोखरा महानगरपालिकाको मेयर पदमा साना पार्टीहरू र स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। ५ जना पार्टीका उम्मेदवार र ६ जना स्वतन्त्र उम्मेदवार गरी ११ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनका दलहरू र नेकपा एमालेले भने पोखरा र कास्कीका ४ गाउँपालिकाको विभिन्न पदमा उम्मेदवार टुंगो लगाउन अन्तिम कसरत गर्दा पनि आइतबार उम्मेदवारी दर्ता गर्न सकेनन्। आइतबार ५ बजेसम्म मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यहरू गरी ३८ जनाको उम्मेदवारी परेको पोखराको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नील पनेरुले बताए।  बिल काटेका समेत गरी ४७ जना रहेका छन्। पोखराको मेयरमा कांग्रेस नेताले वागी उम्मेदवारी दिएका छन्। कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट नेकपा एसका धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय भइसकेको छ। त्यसकै विरुद्धमा कांग्रेसका युवा नेता कार्कीले वागी उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस कास्कीका कार्यकताले पोखरा महानगर पालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग राख्दै जिल्ला पदाधिकारीलाई थुनिदिएका छन्। विराटनगर महानगरपालिकाको मेयरमा ३ जनाले मनोनयन दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस