झापा । भारत बैरीयाका मनोजकुमार सिंह साइकलमा धान ल्याउँदै गर्दा गौरीगञ्ज ४ स्थित नेपाल(भारत सीमामा भेटिए । उनले साइकलमा करिब दुई सय किलो धान बोकेका थिए । त्यो धान भारतमा उनी आफैँले उत्पादन गरेका हुन् । नेपालमा धान बिक्री गर्न आएका हुन्, मनोजकुमार । उनीहरूका लागि भारतीय बजार टाढा छ । भारतीय बजारमा धानको मूल्य पनि कम छ ।
नेपालतर्फ सीमा नजिकै राखिएको काँटामा उनीहरू धान लिएर आउँछन् । ‘यो हामीले नै फलाएको धान हो । हाम्रोमा भन्दा यहाँ भारु एक सय बढी आउँछ । त्यसकारण नेपाल नै धान लिएर आउँछौँ,’ उनले भने, ‘हामी साइकलमै धान ओसार्छौँ ।’ नाकामा प्रायः धान लिएर आउनेको लाइन नै हुन्छ । सशस्त्र प्रहरीले किसानले बिक्रीका लागि ल्याएको धान भनेर सहजै भित्र्याउन दिन्छ । ‘विगतदेखि नै कृषकले ल्याउने गरेका छन् । नाकामा सामान्य वारिपारका कृषकको समस्या बुझ्नुपर्छ,’ नाकामा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले भने ।
कृषकलाई भारतमा बजार पनि टाढा पर्छ । भारतमा नेपालभन्दा पनि कम मूल्य रहेकाले नेपालतर्फ बिक्रीका लगि धान ल्याएको भारतीय नागरिक हरिहरप्रसाद सिंह बताउँछन् । ‘हाम्रो उताको बजार लान टाढा पनि छ । भाउ पनि राम्रो छैन,’ उनले भने, ‘नेपालमा ल्याउँदा क्वीन्टलको भारु १४ सयसम्म आउँछ । हाम्रै देशको बजारमा १३ सय भारु मात्र आउँछ । एक सय फाइदा हुन्छ । यसकै लागि हामी नेपालमा धान ल्याउँछौँ ।’
नाका नजिक नवदुर्गा धान खरिद बिक्री केन्द्र संचालन गरिरहेका जितेन्द्र दासले सीमावर्ती अधिकांश भारतीयले नेपालमै धान बिक्रीका लागि ल्याउने गरेको बताए । उनका अनुसार भारतभन्दा नेपालमा धानको मूल्य धेरै भएकाले कृषक नेपालतर्फ नै धान ल्याएर आउने गरेका छन् ।
‘मेरोमा आउने धान ८५ प्रतिशत नेपालीले ल्याएका हुन्छन् भने १५ प्रतिशत धान भारतीयले ल्याएका हुन्छन्,’ उनले भने, ‘नेपालमै ल्याउन उनीहरूलाई सजिलो छ । भारतको भन्दा मूल्य पनि यता राम्रो छ ।’ यहाँ मात्र हैन झापाको अधिकांश सीमा क्षेत्रमा भारतीयले नेपालतर्फ आफ्ना उत्पादन बिक्रीका लागि ल्याउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनहरीमा चैते धानको परीक्षण
चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान
नवलपरासीका किसान चैते धान रोप्न व्यस्त
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
लमजुङमा बढ्यो धान उत्पादन
महोत्तरीमा धान उत्पादन बढ्यो