काठमाडौं । किसानलाई विशेष सहयोग र सहुलियतमा बैकिङ सेवा प्रदान गर्ने उदेश्य लिई स्थापना भएको सिन्धु विकास बैंक स्थापना कालदेखिनै विवादी बन्दै आएको छ । कहिले नक्कली सुन धितोमा राखेर लाखौ रुपैयाँ कर्जा दिएको त कहिले बचतकर्ताको रकम नै सो बैंकका कर्मचारीकै संलग्नतामा हिनामिना गरेको घटनाहरु सेलाउन नपाउदै पछिल्लो समयमा युवा स्वरोजगारको नाममा लुट मञ्चाएको आरोप समेत लागेको छ ।
सिन्धु विकास बैंक लिमिटेड र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच केही दिन अघि कर्जा लगानी सम्झौता गरेको थियो । सो सम्झौतामा अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेर सो कोषबाट लगानी गर्ने सम्झौता भएको छ ।सो सम्झौता अनुसार सिन्धु विकास बैंकले उसकोे कार्यक्षेत्रमा रहेका १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगार युवायुवतीलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार–व्यवसाय वृद्धि गर्न प्रतिव्यक्ति २ लाख तथा समूहगत प्रतिसमूह अधिकत ३० लाख रुपैयाँसम्म सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सहमति भएको छ ।
तर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्ने सहमति समेत भएको छ । कोषसंग ४ प्रतिशत व्याजदरमा रकम लिएर बैंकले भने बेरोजगार युवायुवतीलाई वार्षिक ८ प्रतिशत अर्थात डवल व्याज असुली ३ वर्ष ६ महिना अवधिका लागि कर्जा उपलब्ध गराउने सो बैंकले जनाएको छ ।बेरोजगारी युवायुवतीलाई देखाउदै कोषद्वारा लिएको रकमलाई मंहगो व्याजदरमा ऋण प्रवाह गरी बेरोजगार युवायुवतीमाथी लुटकै धन्दा चलाउदै आएको आरोप समेत लागेको छ । बैंकले आफ्नो कार्यक्षेत्रभित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयमार्फत उक्त कर्जा लक्षित वर्गमा प्रवाह गर्ने भन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १० : ४३
लेखकबाट थप