लम्बिँदै भ्रष्टाचारका पुराना मुद्दा

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ बैशाख २०७९, ०७ : ३७
लम्बिँदै भ्रष्टाचारका पुराना मुद्दा

काठमाडौं ।  सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी पुराना मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन्। भ्रष्टाचारसम्बन्धी हाई प्रोफाइल मुद्दा समयमा पेसी नचढ्ने, पेसी चढे पनि हेर्न नमिल्ने, हेर्न नभ्याइनेमा पर्दा झन् लम्बिँदै गएका छन्।

दुई वर्षपछि सुनुवाइमा परेको नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको पूर्ण इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा बिहीबार अपुग फाइल झिकाउने आदेश गरेको हो। यो २०७२ जेठ ८ मा दर्ता भएको मुद्दा हो।

यसअघि पनि यस मुद्दामा पाँचपटकसम्म निर्णय, फाइल मगाउने आदेश भइसकेको छ। यसअघि २०७६ माघ १६ मा इजलासमा सुनुवाइ भएको थियो। दुई वर्षपछि फेरि मिसिल झिकाउने आदेश भएको हो। पाँच वर्ष नाघेका २ हजार ५ सयभन्दा बढी मुद्दा सर्वोच्च अदालतमा छन्। अख्तियारले २०६० वैशाख २५ मा पूर्वमन्त्री गोविन्दराज जोशीसमेत आठजनालाई भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो। त्यसपछि विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

विशेष अदालतले जोशीविरुद्ध २ करोड १६ लाख १४ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। विशेषको ठहरविरुद्ध सर्वोच्चमा सात वर्षअघि पुनरावेदन निवेदन दर्ता भएको थियो। जोशीलगायतको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस