गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप

पत्रपत्रिकाबाट

मंगलबार, २९ चैत्र २०७८, ०७ : ४७
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् । सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए । देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हँुदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।

‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन । केही ठाउँबाहेक देशैभरि एमालेका उम्मेदवार सानदार मतकासहित विजयी हुन्छ,’ उपप्रमुख रिजालले भने ।

आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल एकातर्फ छन् भने अर्कोतर्फ एमाले छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाँच दलीय गठबन्धन गर्ने भनिए पनि उनीहरूकै बीचमा मतभेद रहेको बताइन् । एमाले एकढिक्का रूपमा अगाडि बढेको बताउँदै उपाध्यक्ष शाक्यले एमालेको अगाडि पाँच दलीय गठबन्धनको केही नलाग्ने भनाइ राखिन् ।

‘हाम्रो मुख्य प्रतिपस्पर्धा कांग्रेससँगै हुन्छ । माओवादी, एकीकृत समाजवादी, जसपा, जनमोर्चाको देशैभरि संगठन नै छैन । यी दलका बीचमा गठबन्धन गर्ने भनिए पनि तल्लो तहसम्मका नेता कार्यकर्ताले त्यसलाई स्वीकार गरेका छैनन् । एमालेको अगाडि उनीहरू टिक्नै गाह्रो देखिन्छ,’ उपाध्यक्ष शाक्यले भनिन् ।

शीर्ष नेताबीच गठबन्धन गर्ने सहमति मात्रै गरेर नहुने बताउँदै व्यवहारमा लागू गर्न कठिन रहेको उनले बताइन् । देशैभरि एमालेमा प्रवेश गर्नेको लहर चलेको बेला कुनै पनि गठबन्धन एमालेको अगाडि नटिक्ने उनको भनाइ छ ।

यसैबीच चुनावी कार्यक्रममा सोमबार बझाङ पुगेका एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुटमण्डली’को संज्ञा दिएका छन् । आगामी निर्वाचन व्यवस्थित होस् भनेर आफूहरूले सहेर बसेको बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकमा लुट मचाएको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउने एकातिर हुने बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञासमेत दिएका छन् । अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने दाबी ओलीको छ । राजधानी दैनिकमा खबर छ ।