काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।
सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् । सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए । देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हँुदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।
‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन । केही ठाउँबाहेक देशैभरि एमालेका उम्मेदवार सानदार मतकासहित विजयी हुन्छ,’ उपप्रमुख रिजालले भने ।
आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारूढ दल एकातर्फ छन् भने अर्कोतर्फ एमाले छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका छन् ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पाँच दलीय गठबन्धन गर्ने भनिए पनि उनीहरूकै बीचमा मतभेद रहेको बताइन् । एमाले एकढिक्का रूपमा अगाडि बढेको बताउँदै उपाध्यक्ष शाक्यले एमालेको अगाडि पाँच दलीय गठबन्धनको केही नलाग्ने भनाइ राखिन् ।
‘हाम्रो मुख्य प्रतिपस्पर्धा कांग्रेससँगै हुन्छ । माओवादी, एकीकृत समाजवादी, जसपा, जनमोर्चाको देशैभरि संगठन नै छैन । यी दलका बीचमा गठबन्धन गर्ने भनिए पनि तल्लो तहसम्मका नेता कार्यकर्ताले त्यसलाई स्वीकार गरेका छैनन् । एमालेको अगाडि उनीहरू टिक्नै गाह्रो देखिन्छ,’ उपाध्यक्ष शाक्यले भनिन् ।
शीर्ष नेताबीच गठबन्धन गर्ने सहमति मात्रै गरेर नहुने बताउँदै व्यवहारमा लागू गर्न कठिन रहेको उनले बताइन् । देशैभरि एमालेमा प्रवेश गर्नेको लहर चलेको बेला कुनै पनि गठबन्धन एमालेको अगाडि नटिक्ने उनको भनाइ छ ।
यसैबीच चुनावी कार्यक्रममा सोमबार बझाङ पुगेका एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुटमण्डली’को संज्ञा दिएका छन् । आगामी निर्वाचन व्यवस्थित होस् भनेर आफूहरूले सहेर बसेको बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकमा लुट मचाएको आरोप लगाए ।
उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउने एकातिर हुने बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञासमेत दिएका छन् । अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए ।
वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने दाबी ओलीको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ चैत्र २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना