पुल बगाएको नौ महिनापछि बेलिब्रिज

रासस

आइतबार, २७ चैत्र २०७८, १२ : ५९
पुल बगाएको नौ महिनापछि बेलिब्रिज

तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो ।  पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो ।

भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो । चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँका सिनियर डिभिजन इञ्जीनियर दिनेशकुमार घिमिरेले जानकारी दिए ।

सङ्घीय सरकारको रु १८ लाख सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो । गण्डकी प्रदेश सरकारको रु ४३ लाखको लागतमा ग्याबिन जाली तथा बेलिब्रिज मर्मत गरिएको हो । बेलिब्रिज जडानसँगै आवातजावत गर्न सहज भएको व्यास–१३ का वसन्त आलेले बताए । पृथ्वी राजमार्गलाई अहिले चौडा बनाउने काम भइरहेको छ । बुद्धसिं मार्गलाई वैकल्पिक सडकका रुपमा रूपमा विस्तार गर्न लागिएको छ । 

प्रतिक्रिया दिनुहोस