काठमाडौं । मन्त्रीपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् ।
मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो । मन्त्रीपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ ।
‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुंग्याएर, सरकार र निजिक्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन् ।
बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा. बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन् ।
‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्देय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्देय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔं ! अब बूढिगण्डकी बनाउन जुटौं !,’ महामन्त्री शर्माले भनेका छन् ।
०७४ मा कांग्रेस नेतृत्वको सरकारले डा स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन् । ‘ओलि सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन् ।
१२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवाताल भन्दा दशौंगुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन् । ‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीमाथि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छाड्नुहुन्छ : विश्वप्रकाश शर्मा
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गराैँ : महामन्त्री शर्मा