पाकिस्तानमा राजनितिक संकट गहिरिदैं

एजेन्सी

सोमबार, २१ चैत्र २०७८, ०८ : १६
पाकिस्तानमा राजनितिक संकट गहिरिदैं

एजेन्सी । अविश्वासको प्रस्ताव छल्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार संसद् विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेसँगै पाकिस्तानमा राजनीतिक संकट गहिरिएको छ। प्रतिपक्षी पार्टीले प्रधानमन्त्रीको यो कदमलाई प्रतिगमनकारी भन्दै प्रतिकारमा उत्रिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री खानको पार्टीसँग आबद्ध उपसभामुखले प्रतिपक्षी दलले पेस गर्न खोजेको अविश्वासको प्रस्ताव रोकेका थिए। अविश्वासको प्रस्ताव पास हुने अपेक्षा गरिएको थियो। अविश्वासको प्रस्ताव छल्न प्रधानमन्त्री खानले गरेको संसद् विघटनको सिफारिसलाई उनकै पार्टीसँग आबद्ध राष्ट्रपति अरिफ अल्भीले स्वीकृत गरेका हुन्। प्रधानमन्त्री खानले नयाँ निर्वाचन हुने घोषणा गरेका छन्।

प्रधानमन्त्री खानको यो कदमले संवैधानिक संकट उत्पन्न हुने देखिएको छ। प्रतिपक्षी दलका नेता सेवाच सरिफले प्रधानमन्त्रीको संसद् विघटन कदमलाई देशद्रोही भनेका छन्। अविश्वास प्रस्ताव सफल भएको भए सरिफले खानलाई प्रतिस्थापन गर्ने आकलन गरिएको थियो। ‘यो संविधानको घोर उल्लंघन हो,’ सरिफले ट्विट गरेका छन्। उनले सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने बताए। अर्थतन्त्रलाई जीवन दिन र भ्रष्टाचार रोक्न खान नेतृत्वको सरकार असफल रहेको प्रतिपक्षी दलको दाबी छ।

प्रधानमन्त्री खानले आफूलाई अपदस्थ गर्ने प्रयासमा अमेरिकाको समर्थन रहेको आरोप लगाएका छन्। खानको आरोपलाई अमेरिकाले अस्वीकार गरेको छ। पूर्वक्रिकेट च्याम्पियनसमेत रहेका खान पाकिस्तानी सेनाको समर्थनमा सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए। पछिल्ला दिनमा सेनाको समर्थन खानले गुमाएको समक्षीकहरूले बताउँदै आएका छन्।