सफल संवाद

‘भारतीय हस्तक्षेप र नाकाबन्दी लगायतका व्यवहारलाई नसच्याएसम्म नेपाल-भारत सम्बन्ध सुमधुर बन्न सक्दैन’

सूर्यप्रकाश कँडेल

सोमबार, ३१ बैशाख २०७५, ०८ : ०३

चितवन । तत्कालीन जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी चितवनका पुराना वामपन्थी नेता हुन् । २०७४ साल कात्तिक १५ गते नेकपा एमालेसँग पार्टी एकीकरण भएपछि भण्डारी एमालेको केन्द्रीय नेता बनेका छन् । नेपालको राष्ट्रियता र नेपाल–भारत सम्बन्धबारे विशेष जानकारी राख्ने नेता भण्डारी अढाई वर्षअघि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी यो युगकै सबैभन्दा ठूलो पीडा भएको बताउँछन् । नेपाल र भारतबीचको सम्बन्ध सरकारदेखि जनस्तरसम्म सुधारेर अगाडि बढ्नु पर्ने मान्यता राख्ने नेता भण्डारी अरुण तेस्रो जलविद्युत परियोजनाबारे भारतसँग भएको सम्झौता नेपालको हितमा नभएको बताउँछन् । नेपाल र भारतबीच सिमानाको विवाद र त्यसले उत्पन्न समस्या, जलस्रोतको उपयोग, खुल्ला सिमाना, सीमा अतिक्रमण, बेलाबेलामा भारतीय पक्षबाट हुँदै आएको हस्तक्षेप र नाकाबन्दी लगायतका व्यवहारलाई नसच्याएसम्म नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बन्न नसक्ने उहाँको प्रष्ट विचार छ ।

२०१३ साल फागुनमा धादिङ जिल्लाको गल्छी, किरानचोकमा जन्मिएका भण्डारीको हालको बसोबास भरतपुर महानगरपालिका १, लायन्सचोकमा रहेको छ । २०१९ सालमा बसाईं सरेर चितवनको पिठुवामा आएपछि भण्डारीले प्राथमिक शिक्षा शक्तिखोर र माध्यमिक शिक्षा पिठुवाबाट पूरा गरे । रत्ननगरको नेपाल माध्यमिक विद्यालयबाट २०२९ सालमा एसएलसी उत्तीर्ण भण्डारीले राजनीतिशास्त्र (पोलिटिकल साइन्स) विषय लिएर आईए र बीएको पढाई पूरा गरे । वीरेन्द्र क्याम्पस भरतपुरमा आईए अध्ययन गरेका भण्डारीले भैरहवा बहुमुखी क्याम्पसबाट बीए सिध्याएका हुन् । आठ कक्षा पढ्दै गर्दा २०२७ सालमा पिठुवाकै प्रेममाया भण्डारीसँग लगनगाँठो कसेका भण्डारीका दुई छोरी र दुई छोरा छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको पार्टी अन्तर्गतको गोठालो संगठनबाट २०२४ सालमा राजनीतिमा लागेका भण्डारी २०२५ सालमा अखिल नेपाल विद्यार्थी संगठनमा प्रवेश गरे । शिक्षक भएको कारण २०३४ र २०३६ सालको जुगेडी र जुटपानी संघर्षमा अप्रत्यक्षरुपमा सहयोग गरे । २०३६ सालदेखि नेपाल मजदुर किसान संगठनको पार्टी सदस्य भई काम गरेका भण्डारी २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनमा प्रवेश गरे । २०४७ सालमा नेकपा एकता केन्द्रमा रहेका नेता भण्डारी २०४८ सालमा एकता केन्द्रको मोर्चा जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । २०६५ सालमा एकता केन्द्रले नेकपा माओवादीसँग एकता गरेपछि उनी जनमोर्चा नेपालमै रहेर महासचिव बने । २०७१ सालमा जनमोर्चा नेपालको केन्द्रीय अध्यक्ष बनेका भण्डारी २०७४ सालमा वाम एकताको आधार र पृष्ठभूमि स्वीकारेर जनमोर्चा नेपालले नेकपा एमालेसँग पार्टी एकता गरेपछि अहिले एमालेको केन्द्रीय नेताको हैसियतमा छन् । २०४६ सालमा चार महिना भूमिगत बनेका भण्डारीले लामो समय जेलमा बस्नु नपरेपनि दर्जनौं पटक धरपकड र गिरफ्तारीमा परेको बताए ।
दक्षिण एसियाको शक्तिराष्ट्र बन्न चाहेको भारतसँग पछिल्लो समयमा दक्षिण एसियाली मुलुक मालदिभ्स, पाकिस्तान, भुटानको दुरी बढेको र चीनसँग नजिकिएको बताउने भण्डारी भारतले नेपालसँगको सम्बन्ध बिगारेर होइन, सम्बन्ध सुधारेर अघि बढ्नुपर्ने बताउँछन् । प्रस्तुत छ, सफल खबर डट कमको विशेष प्रस्तुति सफल संवाद अन्तर्गत एमाले नेता भण्डारीसँग गरिएको भिडियो वार्ता :

 

प्रतिक्रिया दिनुहोस