निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १७ : २२
निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी

जिल्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्नुपर्ने माग गर्दै गठबन्धन पक्षका चारजना उम्मेदवारले आज (शुक्रबार) विद्यालयमा तालाबन्दी गरेका हुन्।

विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (शनिबार) गर्ने तयारी रहेका वेला गठबन्धनका उम्मेदवारले विभिन्न माग राख्दै निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी गरेको बताए। उनले विद्यालय जस्तो पवित्र स्थलमा राजनीति गर्नु राम्रो नभएको चर्चा गरे।

गठबन्धनका उम्मेदवारहरूले विद्यालय प्रशासनलाई विभिन्न आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले शिक्षा नियमावली विपरीत उम्मेदवारसँग समन्वय नगरी एकलौटी तरिकाले निर्वाचन मिति व्यवस्था विपरीत गएको भन्दै विद्यालयमा तालाबन्दी गरेको जनाएका छन्।

उनीहरूले व्यवस्थापन समिति अध्यक्ष तथा सदस्य छनोट सम्बन्धी व्यवस्था शिक्षा नियमावलीविपरीत निर्वाचन मिति तालिका घोषणा गरेको, मतदाता नामावली प्रकाशित र अभिभावक भेला रीतपूर्वक नभएको, उम्मेदवार मनोनयन दर्ता लिएको तर उम्मेदवार मनोनीत फिर्ता समय तालिका नभएको, उम्मेदवारको दाबी विरोध समय भएको तर उम्मेदवार उपरको महल दाबी विरोध छानबिन निवेदन दिँदा सुनुवाइ नगरेको लगायतका ६ बुँदे आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस