क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १३ : ४९
क्रिप्टोकरेन्सीमार्फत उर्जा आपूर्तिको भुक्तानी लिनेबारे विचार गर्दै रुस

काठमाडौं  क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो ।

रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको वैकल्पिक बाटो खोजिरहेको बताएका हुन् । चीन र टर्कीले ‘रुसमाथि प्रतिबन्धात्मक दबाब’ नदिएको भन्दै यस्ता सहिष्णु मुलुकले रुसी उर्जाको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत् गर्न सक्नेबारे विचार भइरहेको उनको भनाइ छ ।

‘हामीले चीनसँग राष्ट्रिय मुद्राहरु रुबल र युआनमा कारोबार गर्न प्रस्ताव गरिरहेका छौं । टर्कीसँग लिरा र रुबलमा कारोबार हुनसक्छ ।’ उनले थपे, ‘हामी क्रिप्टोकरेन्सीमा पनि कारोबार गर्न सक्छौँ ।’यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुकहरू’ ले रुसी ग्यासको भुक्तानी रुसी मुद्रा रुबलमा नै गर्नुपर्ने बताएका थिए । युक्रेनमाथि आक्रमण गरेयता निरन्तर ओरालो लागिरहेको रुसी मुद्राको साख जोगाउनका लागि रुसले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण लगत्तै अमेरिका, बेलायत, युरोपेली युनियनजस्ता आर्थिक महाशक्तिले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेपछि यो वर्ष रुसी मुद्राको भाउ २० प्रतिशत सम्म घटेको छ ।यद्यपि रुसको उर्जा निर्यातमा भने कमी नआएको र रुस अझै ग्यासको विश्वमा सबैभन्दा ठूलो र तेलको दोश्रो ठूलो निर्यातकर्ता रहेको बताइएको छ ।

यद्यपि क्रिप्टोकरेन्सी स्वीकार गर्ने रुसी कदमले विश्व उर्जा बजारमा उर्जाको मूल्यमा ठूलो हलचल आउने विश्लेषकहरुको भनाइ छ । यो वर्षमात्रै बिट्कोइन क्रिप्टोकरेन्सीको भाउमा ३० प्रतिशतको उतारचढाव आएको छ ।

यसबाहेक चीनजस्ता मुलुकमा बिट्कोइन प्रतिबन्धित रहेकाले यसबारे पनि अन्यौल रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस