काठमाडौं । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको हो ।
आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो ।
लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युत्लगायत सेवाबाट वञ्चित थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको आठ हजार १५५ रोपनी जग्गाको नक्साङ्कन गरिएको छ। सुर्खेतमा पाँच हजार ९९४ भूमिहीन घरपरिवारको लगत सङ्कलन गरिएकामा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १३ : ३३
लेखकबाट थप