समृद्धिको सुरुवात तीन नम्बर प्रदेशबाट : ढुंगेल

सूर्यप्रकाश कँडेल

शनिबार, २९ बैशाख २०७५, १७ : ३९
समृद्धिको सुरुवात तीन नम्बर प्रदेशबाट : ढुंगेल

चितवन । प्रदेश नम्बर तीनका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले समृद्धिको सुरुवात तीन नम्बर प्रदेशबाट हुने बताउनु भएको छ । कर सहयोगी श्रमिक संगठन चितवनको तेस्रो अधिवेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै मन्त्री ढुंगेलले यस्तो बताउनु भएको हो ।
‘तीन नम्बर प्रदेशमा धान फल्छ, स्याउ पनि फल्छ’ उहाँले भन्नुभयो, ‘यो प्रदेशमा गैंडादेखि रेडपाण्डासम्म छ । अन्तर्राष्ट्रिय विमानस्थल छ, ठूल्ठूला अस्पताल छन् ।’ सरकारी, सहकारी र निजी क्षेत्र मिलेर समृद्धिको एउटै गन्तव्य तय गर्नुपर्ने उहाँको भनाइ थियो । यसलाई नै सहयोग पुग्ने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रम आउने उहाँले बताउनु भयो । प्रदेश मन्त्री ढुंगेलले कर सहयोगीले व्यवसायीलाई कर छल्न सिकाउने काम बन्द गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘हरेक कार्यालयमा सिसिटिभी राखेर कर छल्नेहरुलाई ठीक पारिने छ ।’
संगठनका जिल्ला अध्यक्ष सानुकाजी पाठकको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा संगठनका केन्द्रीय अध्यक्ष उद्धवप्रसाद कडरिया, उपमहासचिव शिवप्रसाद न्यौपाने, सदस्य विजयकुमार यादवले मन्तव्य व्यक्त गरेका थिए । संगठनको जिल्ला वरिष्ठ उपाध्यक्ष गोकुलप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेल, आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गोपीकृष्ण पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस