नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १२ : ४३
नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने

काठमाडौं । नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा हुने भएको छ । नेपालभाषा साहित्य विकासको उद्देश्य लिइ सन्ध्या टाइम्स पिथना प्रा.लि.को प्रकाशन नेपालभाषा टाइम्स दैनिकको आयोजनामा पाँच वर्षदेखि नेपालभाषा साहित्य महोत्सव हुँदै आइरहेको छ । 

कोभिड महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसकेकfले यस वर्ष चौथो संस्करणको रूपमा कार्यक्रम हुन लागेको हो । कीर्तिपुर नगरपालिकाको विशेष सहयोगमा २०७८ चैत ११ र १२ गते (ने.सं. ११४२ चिल्लागा ८ र ९) शुक्रबार र शनिबार हुने महोत्सव ‘कीर्तिपुर नगरपालिका चौथो नेपालभाषा साहित्य महोत्सव’को नाममा सञ्चालन हुनेछ । 

जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्का सहभागी हुने महोत्सवमा विभिन्न सातवटा सेसनमा सञ्चालन हुनेछ । 

महोत्सवमा स्थानीय पाठ्यक्रमअन्तर्गत आ-आफ्नो पालिकाअन्तर्गतका स्कुलहरूमा नेपालभाषा पठ्नपाठनको व्यवस्था गरी नेपालभाषा विकासमा महत्वपूर्ण योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वति खड्का रिजाललाई सम्मान गरिने भएकाे छ ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोह र पुस्तक विमोचन हुनेछ । कीर्तिपुर न्याम्हसिमास्थित नेपालभाषा एकेदेमिको हलमा हुने उद्घाटन समारोहमा विभिन्न विधाका पाँच पुस्तकको लोकार्पण हुनेछ । कार्यक्रममा पूर्णराम मुनंकर्मिको निबन्ध  ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु संकलन ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघुकथा संकलन ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’कोलोकार्पण गर्ने कार्यक्रम छ । 

उद्घाटन कार्यक्रम पश्चात सम्पदा भ्रमण गरी कीर्तिपुरको ऐतिहासिक स्थल कीर्तिपुर दरबार क्षेत्रमा पुगी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । ‘नेपालभाषाका ऋतु गीत’ बारे वरिष्ठ संगीतज्ञ रामकृष्ण दुवालसँग संगीतकर्मी पवित्र कसाःले अन्तक्रिया गर्ने छ भने तत्पश्चात वरिष्ठ तथा नयाँ पुस्ताका साहित्यकारहरूबाट आ-आफ्नो रचना वाचन हुनेछ । पहिलो दिनको कार्यक्रमको अन्तमा सांस्कृतिक-सांगीतक कार्यक्रम प्रस्तुत गरिनेछ । 

दोस्रो दिन कीर्तिपुरको ऐतिहासिक स्थान पांगा लाछिमा कार्यक्रम हुनेछ । पांगाको सम्पदा भ्रमण गरी सुरु हुने कार्यक्रममा ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ र ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तक्रियात्मक कार्यक्रम हुनेछ । 

कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जन सहजकर्ता हुने ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ विषयक अन्तक्रियामा वरिष्ठ संस्कृतिविद प्रयागमान प्रधान, कीर्तिपुर नगरपालिका-२ का अध्यक्ष रमेशमान डंगोल र नेवाः लहनाका अध्यक्ष राजमान मानव सहभागी हुनेछन् । त्यस्तै पत्रकार, साहित्यकार सुरेश किरण सहजकर्ता हुने ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तक्रियामा ललितपुर महानगरपालिका स्थानीय पाठ्यक्रम विकास समितिका सहसंयोजक तुलसीलाल सिंह, काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ र कीर्तिपुर नगरपालिका शिक्षा समितिका सदस्य डा. बज्रमुनि बज्राचार्य सहभागी हुनेछ । 

महोत्सवको दोस्रो दिन पनि वरिष्ठ तथा नयाँ पुस्ताका बीसजनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन  गर्नेछन् । यस दिन पनि सांस्कृतिक-सांगीतिक कार्यक्रम गरी महोत्सव समापन गरिनेछ ।

सांस्कृतिक-सांगीतिक कार्यक्रममा लक्ष्मी कुमार महर्जन, रामकृष्ण खड्गी र भीमसेन रिसालको प्रहसन, लक्ष्मीकुमार महर्जनको एकांकी नाटक प्रस्तुत गरिने छ । प्रहसन र नाटकमा लोकप्रिय हास्यकलाकार रवि डंगोललगायतका कलाकारहरूको अभिनय हेर्न सकिनेछ । त्यस्तै गायक गायिका हरिशरण सायमि, सतिस महर्जन, निशा देशार, रत्नशोभा महर्जन, सरिता शाही, रानीशोभा महर्जन, दीपा महर्जन, रोजी श्रेष्ठ, स्वस्ति महर्जन, राजेश महर्जन, मथुरा महर्जन, राजेन्द्र श्रेष्ठलगायत किपू आइडलका विजेता र सहभागीहरूले सांगीतिक प्रस्तुति दिनेछन् । 

प्रतिक्रिया दिनुहोस