युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने रुसको धम्की

एजेन्सी

बुधबार, ०९ चैत्र २०७८, १७ : १८
युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने रुसको धम्की

एजेन्सी । रुसले युक्रेन युद्धमा आफ्नो अस्तित्व खतरामा परे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २८ दिन बितिसक्दा पनि नतिजा निकाल्न सकेको छैन । रुसी सेनासंग युक्रेनका सेनाले हार नमानी निरन्तर मैदानमा उत्रेर आफ्नो देशलाई रुसी कब्जामा पर्नबाट अहिलेसम्म जोगाएका छन् । छिट्टैनै युक्रेनलाई कब्जामा लिने आकलन गरेको रुसले त्यसविपरित युद्ध लम्बिएपछि युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको हो । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन युद्धमा रुसको अस्तित्व संकटमा परे परमाणु हतियार प्रयोग गर्ने धम्की दिएका हुन् ।

युक्रेन अहिलेसम्म रुससँग झुकेको छैन । तर युक्रेनका सबै पूर्वाधारका संरचनाहरु रुसी सेनाले बमबारी गरेर नष्ट पारिदिएका छन् । रुसले युद्ध लम्बिदै जाँदा युक्रेनमाथि हवाई आक्रमण झन तीब्र पारेको छ । युक्रेनमा खानेकुरा,पानी, ग्याँसको चरम अभाव भएको छ भने धेरैजसो शहरमा बिद्युत आपूर्ति बन्द भएको छ । देश नछोडेका युक्रेनीहरुको पीडा निकै दर्दनाक रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रुसी आक्रमणबाट जोगिन ३३ लाख भन्दा बढी युक्रेनी नागरिकले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । रुसी आक्रमणबाट सयौं युक्रेनी नागरिकको मृत्यु भएको छ । उता युक्रेनले पनि १५ हजार भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । तर यसको स्वतन्त्र पुष्टि भने कसैले गरेका छैनन् ।रुसले युक्रेनको अस्पताल,बिद्यालय,आवासीय क्षेत्रलाई पनि आक्रमणको निशाना बनाएको छ ।

रुसले युद्धको सुरुवाती दिनदेखि युक्रेनको चेर्नाेबिल परमाणु उर्जा प्लान्ट आफ्नो कब्जामा राखेको छ । किनकि चेर्नाेबिलमा मानिसको बस्ती निकै कम छ र चेर्नाेबिलको बाटो हुँदै रुसी सेनालाई युक्रेनको राजधानी कीभ प्रवेश गर्न निकै सहज हुन्छ । तत्कालीन सोभियत संघ हुँदा १९८६ मा चेर्नाेबिलको परमाणु उर्जा प्लान्ट बिस्फोट हुँदा पूरै युरोपमा आणविक बादल पठाइएको थियो । रूसले चेर्नोबिल आणविक रिएक्टरलाई नियन्त्रण गरेर युक्रेनलाई सहयोग गर्न खोज्ने नाटो सैन्य शक्तिलाई हस्तक्षेप नगर्न संकेत गरेको रक्षा विशेषज्ञहरुको भनाई छ । किनकि त्यो उर्जा प्लान्ट विस्फोट भएमा युरोप बेलारुस र युक्रेनलाई निकै हानी पुर्याउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस