काठमाडौँ । एक महिनादेखि ‘ड्रायरन’ गरिरहेको जनकपुर–जयनगर रेल अब महिनाको १५ दिन मात्र चल्ने भएको छ। खर्च थेक्न नसकेकाले एक दिन बिराएर रेल सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।
कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार बुधबारसम्म १० लाख ५० हजार रूपैयाँ खर्च भएको र ३ हजार ३८० लिटर डिजल खपत भएको महाप्रबन्धक झाले जानकारी दिए। गत फागुन १ देखि दिनमा एकपटक यात्रुविना जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल ड्रायरन (तयारीको लागि सञ्चालन) भइरहेको छ। तर‚ नियमित सञ्चालनको तयारी अझै तय हुन नसकेको कम्पनीका महाप्रबन्धक झाले बताए। महाप्रबन्धक झाले लागत खर्च कम गर्ने उद्देश्यले होलीपछि एक दिन बिराएर रेल सञ्चालन गर्ने बताए ।प्राविधिक रूपमा सबै तयारी भइसकेको र कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेको झाले बताए। भाडादर पनि निर्धारण भइसकेको छ।
रेल सञ्चालनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकेको महाप्रबन्धक झाले जानकारी दिए। गत फागुन दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी थियो। तर‚ कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको महाप्रबन्धक झाले बताए।
महाप्रबन्धक झाले ‘ड्रायररन’ सफलता भए पनि जनचेतनाको अभाव देखिएको समस्या भएको बताउँछन्।‘पशु चौपाया अझै लिकमै हुन्छन्। जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,’ उनले भने‚ ‘रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ।’अहिले खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल चल्ने गरेको झाले बताए।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रहेको छ। नेपालले सरकारले २०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरेको हो। रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन्। दुवै बोगीले करिव १ हजार ३०० यात्रु बोक्ने क्षमता छ।
कुर्थादेखि जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपैयाँ र एसी सिटमा ३०० रूपैयाँ भाडा निर्धारण गरिएका छन्। रेल सञ्चालनका लागि नेपाली ५८ र भारतीय १६ जना कर्मचारी रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १३ : ४८
लेखकबाट थप