हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको पर्वत सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ। अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन।
गर्मी याम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ। जसलाई समाधान गर्न करिब बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ। शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ। अब एक साताभित्र पानी आपूर्ति नै गर्ने गरी बोरिङ प्रणालीको काम पूरा गर्ने गरी काम भइरहेको श्रेष्ठले बताए। पानी निकाल्ने करिब ३० लाख रुपैयाँ खर्चको अनुमान छ।
‘हामीले बोरिङ गरेर पानी निकाल्न निककै प्रयास गर्दै आएका थियौँ। तर‚ पानी निकाल्न सकिएको थिएन। अहिले १७० मिटर गहिराइमा पानी भेटिएको छ। अबको एक हप्तामा काम सकेर त्यहाँको पानी ट्यांकीमा ल्याउने लक्ष्य राखेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘बोरिङबाट प्रतिसेकेन्ड कम्तीमा ६ लिटर पानी निस्कने भएको छ। यसले हिउँदमा पानीको समस्या खेप्दै आएका कुश्मावासीहरुका लागि ठूलो राहत हुनेछ।’
गर्मी याम नै पानीको माग बढी हुने भए पनि सुक्खापनको कारण यही बेलामा पानीका स्रोतमा पानीको मात्रा घट्ने गरेको छ। कुश्मा बजारमा अहिले दैनिक करिब ४० लाख लिटर पानीको माग रहे पनि ३२ लाख लिटर मात्रै आपूर्ति भइरहेको छ। गर्मी याममा आपूर्ति घटेर २५ लाख लिटरसम्म झर्ने गरेको छ।खानेपानी संस्थाका कार्यालय प्रमुख ज्योतिन्द्र पौडेलका अनुसार मोदी गाउँपालिकाको पाती खोला, कुश्मा नगरपालिकाको क्यादी खोला र डम्डारे खोला गरी तीन ठाउँबाट कुश्मा बजारको लागि पानीको आपूर्ति हुने गरेको छ। तर गत भदौमा भीषण वर्षासँगै आएको पहिरोका कारण डम्डारे खोलाको आपूर्ति अवरुद्ध भएको छ। त्यहाँबाट प्रतिसेकेन्ड दुई लिटर पानी आउने गरेको थियो।
मोदी गाउँपालिकाको पाती खोलाबाट ल्याइएको पाइपमा हिउँद र बर्खा सबै समयमा प्रतिसेकेन्ड १७ लिटर पानीको आपूर्ति हुँदै आएको छ। पानीको मुख्य स्रोतको रूपमा रहेको खुर्कोटको क्यादी खोलाबाट प्रतिसेकेन्ड २२ लिटर पानी आउने भए पनि गर्मी याममा प्रति सेकेन्ड ६ लिटरमा झर्ने गरेको छ।
मुख्य स्रोतबाट नै प्रतिसेकेन्ड १६ लिटर कम पाउने आउँदा बजारमा पानीको अभाव हुने गरेको छ। बोरिङ गरेर पानी निकालिए पनि मागअनुसार पर्याप्त भने हुने छैन। सामान्य अवस्थामा प्रतिसेकेन्ड ४१ लिटर पानीको आपूर्ति हुने गरेको कुश्मामा गर्मी याममा प्रतिसेकेन्ड २५ लिटर मात्रै पानी आउने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, ११ : ३४
लेखकबाट थप