रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

एजेन्सी

शनिबार, २८ फागुन २०७८, १० : ०९
रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध

एजेन्सी । बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई  समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको  विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो । 

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।