मोदीको नागरिक अभिनन्दन गर्न यस्तो तयारी

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ४८
मोदीको नागरिक अभिनन्दन गर्न यस्तो  तयारी

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंँमा नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पूरा गरेको छ । महानगरपालिकाले प्रधानमन्त्री मोदीको सम्मानमा महानगरपालिकाको तर्फबाट वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी दुई दिवसीय राजकीय भ्रमणका लागि वैशाख २८ गते नेपाल आउँदै हुनुहुन्छ । नागरिक अभिनन्दनका लागि महानगरपालिकाको सरसफाइलाई विशेष प्राथमिकता दिन थालेको छ । प्रधानमन्त्री मोदी काठमाडौँमा रहँदा आउजाउ गर्ने सडक वरपरका स्थानका सरसफाइ र रङ्गरोगनको काम भइरहेको महानगरपालिकाको सहायक प्रवक्ता नवराज ढकालले दिनुभयो ।

महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने स्थान र नागरिक अभिनन्दन गरिने भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह बाहिर विशेष स्वागतद्वार निर्माण गर्ने तयारी गरेको छ । त्यसबाहेक १० देखि १२ स्थानमा विभिन्न सङ्घ संस्थाले आ–आफ्नो तर्फबाट स्वागतद्वार बनाउने छन् । राष्ट्रिय सभागृहलाई पनि रङ्गरोगन र मर्मत सम्भार गरेर सिङ्गार्ने क्रम करिब अन्तिम चरणमा पुगेको सहायक प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

नागरिक अभिनन्दनका लागि अपराह्न ३।१५ बजे भारतीय प्रधानमन्त्री मोदी राष्ट्रिय सभागृह पुग्न हुनेछ । महानगरपालिकाले अन्य अतिथि तथा पाहुनालाई २ बजेसम्म नै आसन ग्रहण गराइसक्ने तालिका तयार गरेको छ, आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस