उत्तर कोरियाले गर्‍यो फेरि मिसाइल प्रहार

एजेन्सी

शनिबार, २१ फागुन २०७८, १३ : ३३
उत्तर कोरियाले गर्‍यो फेरि मिसाइल प्रहार

प्योङयाङ । उत्तर कोरियाले फेरि एउटा संदिग्ध व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन् । शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो । दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ । 

शनिवार गरिएको परीक्षण व्यालिस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ र जापानका प्रधानमन्त्रीको कार्यालयले जनाएका छन् । शनिबारको मिसाइल प्रहार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्र सुनानबाट भएको दक्षिण कोरियाको सेनाले जनाएको छ ।  

युक्रेनमाथि रुसी हमलाका कारण अन्तर्राष्ट्रिय समाजको ध्यान त्यतातर्फ केन्द्रित रहेको बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको जापानका रक्षामन्त्री नोबुओ किशिले बताएका छन् । सो मिसाइल ५५० किलोमिटरको उचाइमा पुगेर ३०० किलोमिटर दूरी पार गरेको जापानले जनाएको छ । 

उत्तरले गरेको प्रहारबारे छलफल गर्न दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । उत्तरको पछिल्लो मिसाइल प्रहारबारे अमेरिकी सरकार र सेनाले कुनै टिप्पणी गरिसकेको छैन् । उत्तर कोरियाको पछिल्लो परीक्षण यो वर्षको दुई महिनामा गरिएको नवौं हतियार परीक्षण हो । 

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । तर, प्रतिबन्धको बेवास्ता गर्दै उत्तरले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । 

उत्तरको आणविक हतियार अन्त्य गर्ने विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका वार्ता विना निस्कर्ष टुंगिएका थिए ।  
 

प्रतिक्रिया दिनुहोस