बाबुआमालाई रुवाएर छोरी बेपत्ता

हरिमायालाई मायाको भेलले कहाँ पुर्यायो ?

सूर्यप्रकाश कँडेल

बुधबार, २६ बैशाख २०७५, १७ : ५६
हरिमायालाई मायाको भेलले कहाँ पुर्यायो ?

चितवन । साथीहरुले बोलाउने नाम रजनी । वास्तविक नाम हरिमाया गुरुङ । वर्ष ४० । घर छाडेर हिँडेको भयो चार वर्ष आठ महिना २४ दिन । न सासको अत्तोपत्तो, न लाश फेला परेको छ । छोरीको अज्ञात अवस्थाले चिन्तामा परेका बाबु र आमाले पत्रकार सम्मेलन गरेर भन्नु परेको छ, ‘बेपत्ता छोरी खोजी पाउँ ।’
मायाको पोखरी बनेर स्थिर हुन नसकेकी हरिमाया खहरे बनेर बगिरहिन् । यो खहरे कहाँ गएर सुक्यो वा बगिरहेको छ ? कसैलाई अत्तोपत्तो छैन । हरिमायालाई मायाको भेलले कहाँ पु¥यायो ? कसैले जवाफ दिन सकेका छैनन् । करिब चार वर्षअघि आमा धनमायासँग फोनमा कुराकानी गरेकी हरिमाया त्यसपछि सम्पर्कविहीन छिन् । छोरीको वियोगमा आँसुको भेल बगाइरहेका ७० वर्षीया धनमायाका आँखा अझै ओभानो भएका छैनन् । बुधबार चितवनको भरतपुर महानगरपालिका ११, बसेनीमा पत्रकारसामु मास्कले मुख छोपेर बर्कोले आँसु पुछिरहेकी थिइन् ।


हरिमायाका बुबा ८० वर्षीय इमानसिंह गुरुङले घटनाबारे बेलिबिस्तार लगाउँदै भने, ‘२०७० साल भदौ दुई गते आइतबार बिहान ज्वाइँको घर छाडेर छोरी कपडाको पोको बोकेर हिँडी । धोबीलाई लुगा धुन नारायणगढ जान्छु भनेर स्कुटरमा हिँडेकी छोरी अहिलेसम्म फर्केकी छैन । साँझसम्म नफर्केपछि फोन गर्दा साथीसँग छु भनी । भोलिपल्ट फोन गर्दा छोरी भेट्न काठमाडौँ आएकी छु भनी । अरु तीन दिन कुर्दा पनि नआएपछि नारायणगढतिर सोधखोज गर्दा तमु धिँ सुनचाँदी पसलका सञ्चालकलाई एक लाख १५ हजार रुपैयाँमा स्कुटर बेचेर उ हिँडेको थाहा भयो । काठमाडौँमा खोजी गर्दा पनि फेला परिन । उसको मोबाइल नम्बरबाट ठाउँ पत्ता लगाउँदा काकडभिट्टा, त्यसपछि भारतको आसाम मेघालयसम्म पुगेको पत्ता लाग्यो । मेघालयबाटै उसले चार वर्षअघि अन्तिम फोन गरेकी थिई । त्यसपछि केही अत्तोपत्तो छैन ।’


हरिमायाको पहिलो बिहे २० वर्षको उमेरमा काठमाडौँमा एक जना लिम्बु युवकसँग भएको थियो । दोस्रो बिहे गरेर उनी चितवनको बसेनी आइपुगिन् । हरिमायाका बाबुआमा बसेनीमै छन् । काठमाडौँमा पहिलो श्रीमान्तिरकी २० वर्षीया छोरी छिन् । त्यही छोरी भेट्न गएकी छु भनेकी हरिमाया अहिले बेपत्ता छिन् । बसेनीमा रहँदा भारतीय फौजमा रहेका राजकिशोर थापासँग चिनजान हुन पुगेकी हरिमाया मायाको भेलमा बग्दै थापासँगै भारतको आसाम पुगिन् । छोरी हराएपछि सोधखोज गर्ने क्रममा कल डिटेलको आधारमा हरिमायाले नेपालबाट अन्तिम फोन राजकिशोरलाई गरेको र उसँगै तेस्रो बिहे गरेर आसाममा बसेको पत्ता लाग्यो । आसामबाट आफ्नी आमा धनमायालाई अन्तिम पटक २०७१ साल असारमा फोन गर्दा हरिमायाले ‘हामी दुबै जना अस्ट्रेलिया जाँदैछौँ । अब फोन लाग्दैन’ भनेकी थिइन् । हरिमायाले आफ्नी आमालाई यसो भनेको तीन वर्ष दस महिना बित्यो । फोन सम्पर्कको बाटो पनि हरायो ।


लामो समयदेखि छोरीको मुख देख्नु त परै जाओस्, आवाज सुन्न पनि नपाएपछि हरिमायाका बाबु र आमाले छोरीलाई तेस्रो ज्वाइँले बेचविखनमा पा¥यो कि भन्ने लख काटे । छोरी हराएको एक सातामै प्रहरीमा उजुरी गरेका इमानसिंहले पुनः गतवर्ष चैत पाँच गते अर्को उजुरी दिए प्रहरीमा छोरीलाई ज्वाइँ राजकिशोरले बेपत्ता बनाएको हो भनेर । उनको उजुरीमा राजकिशोरकी आमा र जेठी श्रीमतीलाई पनि मतियार भएको आरोपमा नाम किटिएको छ । प्रहरीले छानबिनका लागि राजकिशोरकी आमालाई थुनामा राखेको छ । राजकिशोर पछिल्लोपटक गतवर्ष माघमा चितवनको यज्ञपुरीस्थित भारतीय सैनिक क्याम्पमा पेन्सनको कागजपत्र बुझाउन आएको प्रहरीले पत्ता लगाएपनि उनी अहिलेसम्म फरार छन् ।
पत्रकार सम्मेलनमा छोरीको खोजीका लागि पत्रकार गुहार्दै हरिमायाका बुबा इमानसिंहले भने, ‘मलाई छोरी फर्काएर घरमा ल्याउनु परेको छैन । उ हराएको चार वर्ष आठ महिना २४ दिन भइसक्यो आज । उ मरिसकी कि जिउँदै छे ? पत्तो पाउनु प¥यो । पत्रकारहरुले सहयोग गरिदिनु होस् ।’

प्रतिक्रिया दिनुहोस