चेल्सी र लिभरपुल एफए कपको क्वार्टरफाइलन प्रवेश

एजेन्सी

विहीबार, १९ फागुन २०७८, १० : ०७
चेल्सी र लिभरपुल एफए कपको क्वार्टरफाइलन प्रवेश

एजेन्सी । मैदानबाहिर समस्याबाट गुज्रिएको चेल्सीले बुधबार राति च्याम्पियनसिपको क्लब लुटोन टाउनलाई ३–२ ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।  प्रिमियर लिगको क्लब चेल्सीले दुई पटकसम्म पछि परेको स्थिति उल्टाउँदै विजय हासिल गरेको हो । चेल्सीका मालिक रोमन अब्रामोभिच क्लब बेच्ने स्थितिमा पुगेका छन् ।

अब्रामोभिचको युगमा सबभन्दा महंगो खेलाडी बनेका रोमेलुले ७८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । त्यसअघि रीसे बुर्केको गोलबाट लुटोन टाउनले दोस्रो मिनेटमै अग्रता लिएको थियो । चेल्सीका साउल निगुइजले २७औं मिनेटमा बराबरी गोल फर्काए । ह्यारी कोर्निकले ४०औं मिनेटमा गरेको गोलबाट लुटन टाउनले पुनः अग्रता लियो । ६८औं मिनेटमा चेल्सीका टिमो वेर्नरले बराबरी गोल फर्काए । 

‘‘आज क्लबमा केही हल्लाहरु सुनिएको छ । पक्कै पनि यस्तो अवस्थामा खेलमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ,’’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘‘तर मलाई लाग्छ हामीले चाहिएको नतिजा निकाल्न सफल भयौं । आशा गरौं क्लबमा धेरै परिवर्तन हुनेछैन । तर अवस्था गम्भिर छ ।’’

चेल्सी चार दिनअघि लिग कपको फाइनलमा लिभरपुलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यही लिभरपुलले गएराति नर्विच सिटीलाई २–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको छ । लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले चेल्सीविरुद्ध खेलेको टोलीमा १० खेलाडी परिवर्तन गरेका थिए । लिभरपुलको जितमा ताकुमी मिनामिनोले २७ र ३९औं मिनेटमा दुई गोल गरे । नर्विचका लुकास रुपले ७६औं मिनेटमा गोल फर्काए पनि पुनरागमनका गर्न सकेन । 

योर्गान क्लोपको प्रशिक्षणमा लिभरपुल पहिलो पटक एफए कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । लिभरपुल अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ भने च्याम्पियन्स लिगको क्वार्टरफाइनल नजिक पुगेको छ । नर्विच सिटी लिगमा पनि लिभरपुलसँग दुबै खेलमा पराजित भएको थियो । प्रिमियर लिगकै अर्को क्लब साउथह्याम्पटनले वेष्ट ह्याम युनाइटेडलाई ३–१ ले हराउँदै क्वाटएरफाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस