भरतपुर महानगरपालिकाले थप दुई सरकारी विद्यालयलाई बस प्रदान गर्दै, दुवै पक्षबिच भयो सम्झौता

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, १७ : १८
भरतपुर महानगरपालिकाले थप दुई सरकारी विद्यालयलाई बस प्रदान गर्दै, दुवै पक्षबिच भयो सम्झौता

चितवन । भरतपुर महानगरपालिकाले साझापुर मावि मेघौली र श्री मावि ढड्‍ढाघारीमा  बस खरिदका लागि दुई पक्षिय सम्झौता गरेको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी एवं भोजराज पौडेलका बीच स्कुल बस खरिद सम्झौता भएको छ ।

स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले दुवै विद्यालयलाई १७ लाख ५० हजारका दरले रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्‍चालनमा ल्याउनेछ। कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थी, भाइबहिनीहरूको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई बस दिने नीति लिएको बताउँदै यस वर्ष यि दुवै विद्यालयलाई बस प्रदान गरेको बताईन् । उनले तोकिएकै मितिमा बस खरिद गरी सञ्‍चालनमा ल्याउन आग्रह समेत गरिन्। 

विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी महानगरले गरेको उनले बताइन । विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान बताउदैं उनले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल पाउन शुरूभएको भन्दै यो ४ वर्षमा करिब ७ हजार विद्यार्थी सरकारी विद्यालयमा बढेको बताइन् । शैक्षिक गुणस्तर वृद्धिको लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाइरहेको उनको भनाई छ । 

 स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्‍ढाघारीका प्रअ गोविन्द प्रसाद सुवेदी र साझापुर मावि व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीले विद्यार्थी संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा बसले उल्लेख्य भूमिका खेल्ने विश्‍वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए।

भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि कुल बजेटको १५ प्रतिशत बढी रकम परिचालन गरेको भन्दै स्कुल बस प्रदान गर्ने कामको प्रतिफल हाँसिल भइरहेको बताए । विद्यालयको क्षेत्र फराकिलो भएका प्राविधिक शिक्षा सञ्चालनमा आएका र गरिब तथा विपन्न परिवारको बाहुल्यता रहेका क्षेत्र पहिचान गरी विद्यालय छ्नौट गरिएको उनले बताए।

यस वर्ष भरतपुर महानगरपालिकाले साझापुर मावि मेघौली र श्री मावि ढड्‍ढाघारीलाई बस प्रदान गर्नेछ भने हालसम्म नारायण नमूना मावि भरतपुर, प्रभात मावि शुक्रनगर, भिमनगर मावि भिमनगर, लक्ष्मी मावि जगतपुर र कविलाश मावि जुगेडिलाई  बस प्रदान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस