एमालेको योजना विफल : न गठबन्धन चुँडियो, न सभामुख हटे !

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, २० : ४६
एमालेको योजना विफल : न गठबन्धन चुँडियो, न सभामुख हटे !

काठमाडौँ । संसदीय चुनावमा वामपन्थी गठबन्धनसँग नराम्रो हार व्यहोरेको कांग्रेसका नेताहरूले अर्को निर्वाचनअघि सत्तामा पुग्ने कुनै सम्भावना देखेका थिएनन् । तत्कालीन नेकपा र पछि एमालेमा आएको विग्रहले कांग्रेसलाई चिठ्ठा पर्‍यो । मुख्यगरी एमालेबाट छुट्टिएका माधव नेपालसहितका सांसदकै कारण देउवाको सत्तारोहण सम्भव भएको थियो ।

एमसीसीलाई प्रयोग गरेर सत्ता गठबन्धन भत्काउने एमालेको रणनीति सफल हुन सकेन । गठबन्धन भत्काउन सके सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन र एमाले छाडेर हिँडेका १४ जना सांसदलाई गरिएको कारवाही कार्यान्वयन गर्न सकिने बुझाइमा एमाले थियो ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा नआउने र कांग्रेससँग सहकार्य गर्ने वातावरण बन्ने आशा एमाले नेतृत्वको थियो । जसरी पनि एमसीसी अनुमोदन गराउने कांग्रेसको अडानले एमाले रणनीति कार्यान्वयनमा सघाउने आशासहित प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बालुवाटार–बालकोट ओहोर दोहोर चलिरह्यो । गठबन्धन भत्काउन चाहने कांग्रेसभित्रका नेताहरूले पनि एमालेसँग सहकार्य गर्नुपर्ने मत व्यक्त गरिरहेका थिए। 

शीर्ष तहका नेताहरू घनिभूत छलफलमा बसे । छलफलमा एमालेका नेताहरूले सभामुख हटाउने र १४ जना सांसदलाई कारवाहीको विषय प्रमुखताका साथ उठाइरहे । जुन काम फत्ते गर्नु कांग्रेस सभापति देउवाका लागि ढुङ्गा चपाउनुसरह थियो ।
समक्षकी नेताहरूमध्ये एमाले अध्यक्ष ओली रणनीतिक मुभमा अगाडि मानिन्छन् । तर, विगत एक वर्षयता भने ओली एकपछि अर्को रणनीतिमा असफल भइरहेका छन् । नेकपाभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा शुरू भएको ओलीको ओरालो यात्रामा ब्रेक लाग्न सकेको छैन ।

एमालेसँग संवादमा बस्दा देउवालाई नेपालको यही गुनले बाडुल्की लगाउने अवस्था थियो । अर्कातर्फ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देउवालाई भेटेर एमालेसँग ‘अनुचित सम्झौता’ नगर्न दबाब दिएका थिए । गठबन्धनभित्र देउवाले सबैभन्दा बढी माधव नेपालकै कुरा सुन्ने गरेका छन् ।

गठबन्धन भत्काउने ओलीको रणनीति र एमालेलाई शक्ति आउन नदिने प्रचण्ड–नेपालको दाउमा फेरि एकपटक ओलीले हारेका छन् । अहिले गठबन्धन भत्काउँदा एमाले प्रदेश सरकारमा शक्तिमा फर्कनसक्थ्यो र त्यसको फाइदा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनबाट उठाउन सक्थ्यो । यही विश्लेषणमा एमाले नेतृत्व गठबन्धन तोड्ने अभियानमा लागेको हो ।

एमसीसीकै कारण गठबन्धन भत्काउन सकिने विश्वासमा ओली थिए । कांग्रेससँग संवाद बाक्लिँदै गएपछि ओली उत्साहित पनि सुनिन्थे । गत फागुन ७ मा भक्तपुरमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन समारोहमा ओलीले गठबन्धनलाई पानीमुनि गएपनि नछाड्ने अभिव्यक्ति दिएका थिए । समक्षकी नेताहरूमध्ये एमाले अध्यक्ष ओली रणनीतिक मुभमा अगाडि मानिन्छन् । तर, विगत एक वर्षयता भने ओली एकपछि अर्को रणनीतिमा असफल भइरहेका छन् ।

नेकपाभित्रको विग्रह व्यवस्थापन गर्न नसक्दा शुरू भएको ओलीको ओरालो यात्रामा ब्रेक लाग्न सकेको छैन । २०७७ को पुस ५ मा संसद् विघटनको निर्णयले एमालेलाई राजनीतिक क्षति पुर्‍याइरहेको छ । त्यसपछि नेकपाको विभाजन, केन्द्रदेखि प्रदेशसम्मको प्रतिपक्षी यात्रा, एमालेको विभाजन, राष्ट्रिय सभा निर्वाचनको क्षति निरन्तर रह्यो ।

आगामी निर्वाचनमा पनि एमालेलाई गठबन्धनले क्षति पुर्‍याउने आकलनसहित ओली गठबन्धन भत्काउन चाहन्थे । यसका लागि ओली आफैँ अघि सरेका थिए । ओलीले कांग्रेस नेतृत्वसँग बालकोट र बालुवाटारमा पटक–पटक छलफल गरे । देउवा र ओलीको ‘वान अन वान’ वार्ता भयो । तर, निष्कर्ष आएन । निरन्तरको प्रयासमा पनि सफलता हात नपर्नुमा ओलीले परिचालन गरेको टीम नै मुख्य कारण रहेको एमाले नेताहरूकै विश्लेषण छ ।

ओलीले कांग्रेससँगको संवाद आफैले थालनी गरेका थिए । दोस्रो तहका नेताहरूलाई धेरै पछि मात्रै सहभागी गराएका थिए । यता राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने एमाले नेतृत्वको दोहोरो भूमिकाका कारण पछिल्लो रणनीति फेल भएको बताए ।
‘आफ्ना शर्त पूरा भए एमसीसीमा पूर्ण रूपमा सघाउने एमालेको तयारी थियो । तर, त्यो शर्त पूरा गर्न प्रधानमन्त्रीका लागि सजिलो थिएन । प्रधानमन्त्रीले शर्त पूरा गरिदिएनन् । त्यसैले एमाले संसद्मा होहल्ला गरेर बस्यो । महत्त्वपूर्ण विषयमा अनिर्णयको बन्दी भएर बसेको नजिता एमालेले निर्वाचनमा भोग्न सक्छ’, उनले भने । 

प्रतिक्रिया दिनुहोस