चुनाव चिन्ह नपाउने ३१ दल आन्दोलित

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १२ : ४१
चुनाव चिन्ह नपाउने ३१ दल आन्दोलित

काठमाडौं । आगामी निर्वाचनमा आफ्नो दलको छुट्टै चुनाव चिन्ह नपाउने भएपछि  राष्ट्रिय दलको मान्यता नपाएका ३१ वटा साना दल आन्दोलित भएका छन् । आन्दोलित हुनेमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसमेत छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र सो बाहेकका अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह पाउने व्यवस्थाप्रति साना दलले असन्तुष्टि जनाएका हुन् । उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग तथा निर्वाचन आयोगलाई यसबारे ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।


आयोगमा दर्ता भएका साना दललाई चुनाव चिन्ह नदिने नीति स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको दफा २६ को उपदफा ६ र ७ मा रहेको प्रावधान विपरीत रहेको साना दलका नेताहरूको गुनासो छ ।आयोगमा दर्ता भएका दललाई चुनाव चिन्ह नदिनु संविधानको मूल्य मान्यताको समेत विपरीत रहेको भन्दै त्यसलाई संशोधन गर्न साना दलको माग रहेको विवेकशील साझा दलकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य समीक्षा बाँस्कोटाले रातोपाटीलाई बताइन् ।


बाँस्कोटाले भन्छिन्, ‘थ्रेसहोल्ड र चुनाव चिन्हको विषयलाई एकै ठाउँमा लगेर राखियो, जसकारण राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूले उनीहरूले आफ्नै दलको चुनाव चिन्ह नपाउने र स्वतन्त्ररुपमा आफ्नो उम्मेदवार खडा गर्नुपर्ने भन्ने व्यवस्थाका कारण साना दललाई अन्याय भएको छ ।’

सो ऐनमा रहेको प्रावधानका कारण आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका दलहरूमध्ये ७२ दलले आफ्नो दलको चुनाव चिन्हमा चुनाव लड्न नपाउने भएका छन् । साना दलहरूले आफ्नो दलको चिन्ह लिएर चुनावमा जान नपाउनु संविधानले दिएको अधिकारको विरुद्धमा रहेको भन्दै अदालतको ढोका ढकढक्याउने तयारीसमेत गरेको बाँस्कोटाले बताइन् ।

राष्ट्रिय मान्यताप्राप्त ६ दलले मात्र चुनाव चिन्ह पाउने भएपछि राष्ट्रिय मान्यता प्राप्त नगरेका ३१ दलहरूले पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाविरुद्ध प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर साना पार्टीलाई पनि चुनाव चिन्ह पाउने व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त नगरेका ७२ राजनीतिक दलले पार्टीको चुनाव चिन्ह नपाउने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलहरूले चुनाव चिन्ह पाउने आयोगले जनाएको छ । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी गरी ६ दलले मात्र आफ्नै दलको चुनाव चिन्हबाट लड्न पाउनेछन् ।

निर्वाचन आयोगमा १११ वटा दल दर्ता भएका छन् । जसमा स्थानीय तहको चुनावमा भाग लिन ८० वटा राजनीतिक दल दर्ता भएका छन् । यीमध्ये ७४ दलले दलगत चुनाव चिन्ह प्रयोग गर्न नपाउने भएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस