कर्फ्यू आदेशसँगै वीरेन्द्रनगर सुनसान

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, १० : १५
कर्फ्यू आदेशसँगै वीरेन्द्रनगर सुनसान

file Photo

कर्णाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यू  (निषेधाज्ञा) का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् ।

प्रशासनले कफ्र्य तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ । सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।

समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कर्फ्यू  जारी गर्नुभएको हो ।

कर्फ्यू  जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस