आज महाशिवरात्री पर्व : देशभर भगवान शिवको आराधना तथा पुजापाठ गरि मनाईदैं

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, ०७ : ४९
आज महाशिवरात्री पर्व : देशभर भगवान शिवको आराधना तथा पुजापाठ गरि मनाईदैं

काठमाडौं । हिन्दुहरूको महान् पर्व महाशिवरात्री मंगलबार (आज) मनाइँदैछ। यसपटकको शिवरात्रिका लागि सोमबारसम्म मन्दिर क्षेत्रलाई विभिन्न थरीका फूल र बत्तीले सजाएर झकिझकाउ पारिएको छ। फोटो खिचेर पशुपतिनाथको दर्शनलाई स्मरणीय बनाउन चाहने भक्तजनका लागि मन्दिर परिसरमा सेल्फी प्वाइन्टहरूको समेत व्यवस्था गरिएको छ।

शिवरात्रिको अघिल्लो दिन (सोमबार) नै मन्दिर क्षेत्रमा भक्तजनको भिड बढेको थियो। कोरोना महामारीको जोखिम कायमै भएकाले यसपटक महाशिवरात्रिमा मेला भर्न आउने भक्तजनको स्वास्थ्य सुरक्षाको ख्याल राख्दै पशुपति क्षेत्र विकास कोषले मास्क र सेनिटाइजर अनिवार्य गरेको छ।

मन्दिर परिसर क्षेत्रमा साधुसन्तको आगमन बढेको छ। चार सयजति नागाबाबाले मन्दिर परिसरभित्र आआफ्नो धुनीमा स्थान ओगटेका छन्। नागाबाबाहरूले भक्तजनलाई खरानीको टीका लगाइदिएर मयूरको प्वाँखको कुचोले हानेर आशीर्वाद दिइरहेको दृश्य पशुपति मन्दिर परिसरमा देख्न सकिन्छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार यसपटक नेपालबाहिरका हिन्दु पर्यटक पनि आउने निश्चित बनेको छ।

यस्तै उपत्यका बाहिर रहेका शिवालयहरुमा पनि भक्तजनको घुईचो लागेको छ । भक्तालुहरु बिहानै नुहाईधुवाई गरि भगवान शिवको मन्दिरमा पुगि पुजा आराधनामा जुटेका छन् । 

प्रतिक्रिया दिनुहोस