रत्ननगर महोत्सव आजबाट सुरु

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १५ : ०३
रत्ननगर महोत्सव आजबाट सुरु

काठमाडौं । कोभिड–१९ प्रभावका कारण स्थगित भएको रत्ननगर महोत्सव आजबाट सुरु भएको छ । पुस २७ गते सुरु गर्न लागिएको महोत्सव अन्तिम समयमा रोकिएको थियो । कोभिड–१९ को प्रभाव घटेसँगै आजबाट महोत्सव सुरु भएको हो । रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सवको ११औँ संस्करण टिकौलीचौरमा सुरु भएको छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष एवं मेला व्यवस्थापन समितिका संयोजक शङ्कर गिरीका अनुसार आज पहिलो दिन प्रभात फेरि र औपचारीक उद्घाटन गरिने छ ।  महोत्सवका गतिविधि बिहान देखिनै सुरु भएको गिरीले जानकारी दिए ।  

महोत्सव मूल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले महोत्सवले कृषि, पर्यटन तथा अर्थसँग जोडिएका वस्तुको आर्थिक कारोबार हुने भएकाले कोरोनाले थलिएको अर्थतन्त्रलाई महोत्सवले थप टेवा पु¥याउने बताए । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरू भएको महोत्सवमा ४२५ स्टल रहेका छन् । महोत्सव फागुन २३ गते सम्म सञ्चालन हुने छ । 

ती स्टलमा गरिने प्रदर्शनीले उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउन सक्षम हुने श्रेष्ठले बताए । महोत्सवमा ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र रु १५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

 महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रम तथा बालबालिकाका लागि फनपार्कसमेत रहेका छन् । महोत्सव परिसरमै जीपलाइन एड्भेन्चरको व्यवस्था गरिएको छ । महोत्सवकै अवसरमा फागुन १६ गते देखि ४ दिनसम्म चौंथो चिकेन एण्ड एग फुड फेस्टिबल सञ्चालन हुने छ । 

फुड फेस्टिबल सौराहाचोकमा हुनेछ । महोत्सवमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारद्वारा मनोरञ्जनात्मक साङ्गीतिक प्रस्तुति अवलोकन कर्ताका लागि थप आकर्षण रहने उनले बताए।
 

प्रतिक्रिया दिनुहोस