एमसिसीमा सहमतिका लागि बैठक नै बैठक

पत्रपत्रिकाबाट

शुक्रबार, १३ फागुन २०७८, ०७ : ४५
एमसिसीमा सहमतिका लागि बैठक नै बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसद्बाट अनुमोदनका विषयमा सत्तारुढ राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा बिहीबारबाट सुरु हुने भनिएको सैद्धान्तिक छलफल अन्तिम समयमा शुक्रबारका लागि सारिएको छ।

प्रतिनिधि सभाको फागुन ८ को बैठकमा टेबल गरिएको उक्त प्रस्ताव माथि सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साथ नदिएपछि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको हो। एमसिसीको पक्षमा सहमति जुटाउन र गठबन्धन जुटाउनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू बिहीबार सक्रिय भए।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि सोही दिन बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटारले कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए।

कार्यव्यवस्था समितिको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले एमसिसीको विपक्षमा उभिने निर्णय गरेका थिए।

त्यसलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। माओवादी र समाजवादीले एमसिसी सम्झौता प्रतिनिधि सभामा टेबल गर्न मात्र सहमति दिएको भन्दै प्रधानमन्त्री देउवालाई पक्षमा मतदान गर्न नसक्ने जानकारी गराए। 

प्रधानमन्त्री देउवाले गठबन्धन र प्रधानमन्त्री पद नरहेपनि एमसिसी सम्झौता संसद्बाट पारित गराउन आफू दृढ रहेको दाहाललाई जानकारी गराएका थिए। दाहालले पनि आफूहरू सडक तताउने देउवालाई जानकारी गराएको स्रोतको  दाबी छ।

प्रधानमन्त्री देउवाले सरकारको प्रस्तावको विपक्षमा उभिने हो भने सरकारमा बसिरहने पनि नसुहाउने दाहालसँग बताएका थिए। माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफूहरू सरकारबाट बाहिरनेसम्मको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए। त्यसबीचमा सुरु भएको कार्यव्यवस्था समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागि भएन। नागरिक दैनिकमा खबर छ  । 

प्रतिक्रिया दिनुहोस