उकालो लागिरहेछ पुराना सवारी किनेर बेच्ने व्यवसाय

सूर्यप्रकाश कँडेल

मंगलबार, २५ बैशाख २०७५, १३ : ५३
उकालो लागिरहेछ पुराना सवारी किनेर बेच्ने व्यवसाय

चितवन । चौध वर्षदेखि गाडीको सट्टापट्टा कारोबारमा संलग्न रहँदै आउनु भएका खेमबहादुर हमालले २०७४ साल बैशाखमा भरतपुर महानगरपालिका १०, एयरपोर्टरोडमा एलबी अटोमोवाइल्स एण्ड रिकण्डिसन खोल्नुभयो । पुराना जिप, कार, भ्यानको खरिद, बिक्री र सट्टापट्टा गर्दै आउनु भएका एलबी अटोका प्रबन्ध निर्देशक हमाल खरिद गरेका पुराना गाडी मर्मतपछि बिक्री गर्ने गरिएको बताउनु हुन्छ ।
‘पुरानो गाडी ल्याएर सट्टापट्टा गरी अर्को गाडी लैजान्छन्’ उहाँले भन्नुभयो, ‘पुरानो गाडी किन्ने पनि आउँछन् । गाडीको अवस्था हेरेर मूल्यांकन गरी कारोबार गर्छौं ।’ गाडी बिक्री गर्ने र खरिद गर्नेको बीचमा मध्यस्धताको काम गर्ने गरेको उहाँले बताउनु भयो । तीन जना कामदार रहेको एलबी अटोमा दुई लाखदेखि २५ लाखसम्मका पुराना गाडी बिक्रीमा राखिएका छन् ।
पाँच वर्षअघि एक दर्जन जति रहेका रिकण्डिसन हाउस अहिले तीन दर्जन पुगिसकेका छन् । पुरानो गाडी किनबेच र सट्टापट्टाको कारोबार बढ्दै जाँदा चितवनमा रिकण्डिसनको व्यापार उकालो लागिरहेको छ । भरतपुरमा पुराना गाडीको कारोबार गर्ने रिकण्डिसन हाउस आधा दर्जन रहेको जानकारी दिँदै हमाल भन्नुहुन्छ, ‘रिकण्डिसनको कारोबार बिस्तारै बढ्दो छ । व्यवसायी धेरै हुँदा व्यवसायमा असर पर्छ । यातायात व्यवस्था कार्यालय भरतपुरबाट गाडी नामसारीको काम नहुँदा समस्या परेको छ ।’

भरतपुर महानगरपालिका कार्यालय नजिक पाँच सय मिटर दुरीभित्रै पुराना मोटरसाइकलको कारोबार गर्ने आधा दर्जन रिकण्डिसन हाउस छन् । नारायणगढ र भरतपुर क्षेत्रमा दुई दर्जन मोटरसाइकल रिकण्डिसन हाउस रहेको सम्वद्ध व्यवसायीहरु बताउँछन् । रत्ननगर, खैरहनीसहित चितवनभर तीन दर्जन रिकण्डिसन हाउस रहेको अनुमान छ ।

भाटभटेनी अगाडि भरतपुरमा रहेको जय बुद्ध रिकण्डिसन हाउसका सञ्चालक शिव भट्टले २०७४ साल असारबाट मोटरसाइकल रिकण्डिसन व्यवसाय सुरु गर्नु भएको छ । यसअघि आठ वर्षसम्म रिकण्डिसन हाउस चलाएर बीचमा दुई वर्ष अन्य पेशामा लागेपनि आफू पुनः यही व्यवसायमा फर्किएको भट्टले बताउनु भयो । आफूकहाँ ५० हजारदेखि दुई लाख रुपैयाँसम्मका पुराना मोटरसाइकल रहेको उहाँले जानकारी दिनुभयो ।
रिकण्डिसन व्यवसायी धेरै हुँदा व्यवसायमा प्रतिस्पर्धा बढेको उहाँ बताउनु हुन्छ । ‘व्यवसायमा प्रतिस्पर्धा त भइहाल्छ । व्यापारिकमात्र नभएर व्यावहारिक पनि हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘थोरै नाफा राखेर धेरै व्यापार गर्नु राम्रो हुन्छ । बिक्रीपछिको सेवा राम्रो हुनुपर्छ ।’
ब्लुबुकसहित पुराना मोटरसाइकल खरिद गरिने भएकोले चोरीको मोटरसाइकल पर्ने सम्भावना नरहेको भट्टले बताउनु भयो । पुरानो मोटरसाइकल बिक्री गर्नेसँग मञ्जुरीनामा लिएर किन्नेको नाममा सिधै नामसारी गरिने बताउँदै भट्टले आफूहरुले मध्यस्धताको काम गर्ने गरेको जानकारी दिनुभयो ।
जय बुद्धसँगै रहेको मामा भाञ्जा वर्कशप एण्ड रिकण्डिसन हाउसका सञ्चालक नेत्रप्रसाद तिमिल्सिनाले आफ्नै भाञ्जा शिवप्रसाद तिवारीसँग मिलेर २०६८ सालदेखि रिकण्डिसनको व्यवसाय सुरु गर्नुभयो । आफूले यो व्यवसाय सुरु गर्दा चितवनमा एक दर्जन जति मोटरसाइकल रिकण्डिसन हाउस रहेको जानकारी दिँदै तिमिल्सिनाले गाडी रिकण्डिसन हाउस पछिमात्र आएको बताउनु भयो ।
‘हामीले यो व्यवसाय गरेको देखेर अरुले पनि रिकण्डिसन हाउस खोल्न सुरु गरे’ उहाँले भन्नुभयो, ‘अहिले तीन दर्जन हाराहारीमा रिकण्डिसन हाउस सञ्चालनमा छन् । पुरानो मोटरसाइकल किन्न आउने ग्राहकले सस्तोमा राम्रो कण्डिसनको खोज्छन् ।’ उहाँले आफूकहाँ ३० हजारदेखि दुई लाख २० हजार रुपैयाँसम्मका पुराना मोटरसाइकल बिक्रीमा रहेको बताउनु भयो । शो रुमबाट बिक्री हुने नयाँ मोटरसाइकलमध्ये आधाजति फाइनान्स सुविधामा बिक्री हुने गरेको जानकारी दिँदै तिमिल्सिनाले रिकण्डिसन कारोबारमा बैंक तथा वित्तीय संस्थाले ऋण नदिँदा समस्या भोग्नु परेको बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस