रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १५ : ४८
रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ । एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजीस्वरूप दौडधुप बढाएका पौडेलले आज यादवबाट भेट सुरू गरेका छन् । पौडेल सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक पनि छन् ।

दुई नेताबीच सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दल कार्यालयमा भेट भएको हो । भेटमा एमसीसी सम्झौताको विषय केन्द्रित रहेको पौडेलले जानकारी दिए ।एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा पनि कुराकारी भएको पौडेलले बताए ।

यादवसँगको भेटबारे जानकारी दिँदै उनले भने, ‘अहिले सामान्यतया देशको परिस्थितिको बारेमा हामीले छलफल गर्‍यौँ । एमसीसीको समस्या पनि अहिले हाम्रो अगाडि जटिलरूपमा आइरहेको छ । यसले गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध के हुन्छ ? हाम्रो विकासको भविष्य के हुन्छ ? यी कुरा हामीले राम्रैसँग कुरा गर्‍यौँ । सैद्धान्तिकरूपमा त हाम्रो बीचमा केही मतभेदजस्तो देखिएन । तर, केही प्राविधिक कुराहरु छन् । उहाँहरु मिटिङ गर्नुहुन्छ रे १३ गते अनि त्यसपछि निर्णय गर्नुहुन्छ भन्नुभयो ।’

एमसीसी सम्झौता संसदमा पेस भइसकेको सन्दर्भमा यसको निकासका लागि एमाले, माओवादी केन्द्र र नेकपा एसका नेताहरूसँग पनि कुरा गर्ने पौडेलले बताए ।देशमा संकट नगहिरियोस् भन्नका लागि आफू प्रयत्नशील रहेको उनको भनाइ छ । नेता पौडेलले एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस