गैँडाकोटमा नगर अस्पताल सन्चालन, सामान्य उपचारका लागि चितवन धाउनुपर्ने बाध्यताको अन्त्य

प्रकाश सिग्देल

आइतबार, ०८ फागुन २०७८, १५ : ५५
गैँडाकोटमा नगर अस्पताल सन्चालन, सामान्य उपचारका लागि चितवन धाउनुपर्ने बाध्यताको अन्त्य

गैंडाकोट । भरतपुर महानगरसंग जोडिएको नवलपुरको गैँडाकोट नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् । सामान्य औषधी उपचारका लागि समेत चितवन धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयवासी हर्षित भएका हुन् ।

गैँडाकोट नगरपालिकाले वडा नम्बर ११ मा नगर अस्पताल सञ्चालनमा ल्याएको छ । उक्त नगर अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा सहित, प्रसूति सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा सहित जनस्वास्थ्यका सेवाहरु स्थानियबासीका लागि उपलब्ध हुने भएको छ । यसअघि अस्पतालको अभावमा सामान्य समस्यामा पनि चितवन धाउनु पर्ने अवस्था रहेको बिरामी समन कंडेलले बताए ।

पितौजीमा रहेको स्वास्थ्य चौकीलाई नै स्तरोन्तती गर्दै गतवर्ष नगर अस्पताल सञ्चालन गरिएको हो । एमबीबीएस अध्ययन गरेका तीन जना मेडिकल अधिकृतहरु नगर अस्पतालमा कार्यरत छन् । अस्पतालले फागुन १ गते आइतबारदेखि बिरामी भर्ना गरेर उपचार गर्न समेत सुरु गरेको छ । 

मेडिकल अधिकृत डा. मोहिता चौधरीले बताईन् । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको नगर अस्पतालमा मौसमी बिरामीसहित दीर्घरोगीहरु समेत उपचारका लागि आउने गरेका छन् । गैँडाकोटमा जनप्रतिनिधि आउँदासम्म यहाँका बासिन्दा उपचारका लागि चितवनको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगर अस्पताल निर्माणको तयारीमा नगरपालिका जुटेको थियो । 

नगरपालिका नगर अस्पताल देखी बर्थिग सेन्टर निर्माण गर्न र वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएको गैडाकोट नगर प्रमुख छत्रराज पौडेलले बताए । नगर अस्पताल निर्माण भएसँगै सुविधा सम्पन्न भवनको काम समेत सुरुआत गरिएको छ । १५ शैयाको आधारभूत अस्पताल निर्माणका लागि गएको जेठ १४ गते १२ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस