संसदमा आज टेबल होला त एमसिसी ?

पत्रपत्रिकाबाट

आइतबार, ०८ फागुन २०७८, ०७ : ५४
संसदमा आज टेबल होला त एमसिसी ?

काठमाडौं । एमसीसी अनुमोदन गर्न अमेरिकाले दिएको समयसीमा (फागुन १६) आउनै लाग्यो। तर, अमेरिकी अनुदान सम्झौता संसद्मा टेबल गर्ने कि नगर्ने भन्नेमै सत्ता साझेदार दलहरू अल्झिएका छन्। प्रतिनिधिसभाको बैठक आइतबार बोलाइए पनि संसदीय प्रक्रियामा जानेमा अन्योल कायमै छ। 

संघीय संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूचीमा यो विषय राखेको छैन। संसद् बैठकअघि सत्ता गठबन्धनको बैठक बोलाइएको छ। त्यहाँ सहमति जुटे कार्यसूचीमा भने हेरफेर हुने नेताहरू बताउँछन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिकै बैठकमा सम्झौता अघि बढाउन खोजेका थिए। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत नभएपछि देउवापछि हटेका थिए। दलहरूबीच सहमति नजुटेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा राख्न अस्वीकार गरेका थिए।

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले ‘मध्यमार्गी’ प्रस्ताव अघि सारेको छ। तर, यो विषयमा उक्त पार्टीमा मतभेद देखिएको छ। अध्यक्ष माधवकुमार नेपाल पक्ष लचिलो देखिएको छ। अर्का नेता झलनाथ खनाल पक्ष अडानमै छ। 

‘नेपाली जनताको भावना, राष्ट्रिय हित र वैचारिक प्रतिबद्धताको आधारमा एमसीसी र समसामयिक विषयमा आवश्यक निर्णय गर्न सचिवालयलाई अधिकार दिइएको छ’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाद्वारा जारी प्रेस वक्तव्यमा छ, ‘संसद्को अवरोध हटेर राजनीतिक दलहरूको बीचमा सहमति भएमा सार्वभौम संसद्मा टेबल गर्न सकिने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरेको छ। तर, संशोधन नभएको एमसीसी कम्प्याक्ट टेबल हुने कुरा औचित्यपूर्ण नहुने र नेकपा एकीकृत समाजवादी जबर्जस्ती गरेर टेबल गर्ने कुराको पक्षमा छैन।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस