एमसिसीले गठबन्धन टुट्ला ?

पत्रपत्रिकाबाट

शनिबार, ०७ फागुन २०७८, ०७ : ५८
एमसिसीले गठबन्धन टुट्ला ?

काठमाडौं । प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन्।

तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ। पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन। पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धनको बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ।

एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेर संसद् स्थगित भएको थियो। बैठकमा एमालेले पुरानै अजेन्डामा नाराबाजी जारी राखेको थियो। संसद्को अर्को बैठक पनि ८ गते नै बोलाइएको छ।

पाँच दलीय गठबन्धन तोडाउने तर एमसिसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी ओलीले गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसप्रति सचेत रहन गठबन्धन कै नेताले सुझाव दिएका छन्। त्यसकारण पनि देउवा तत्कालै एमाले अध्यक्ष केपी ओलीको विश्वासमा पर्नसक्ने अवस्था छैनन्। पाँचदलीय गठबन्धनको सहमतिबाट नै एमसिसी पारित होला र आफू राष्ट्रवादी बन्दै जनतामा जान पाउँला भन्ने दाउ एमालेले खेलेकोले पनि एमसिसीमा मतदान गर्नेविश्वस्त आधार एमालेले नदेखाएको एक नेताले बताए।

गठबन्धनबाट सरकार छाड्ने चेतावनी आउँदासमेत प्रधानमन्त्री देउवाले जबरजस्ती संसद्मा एमसिसी टेबुल गर्ने आँट गरेका छैनन्। सरकार फागुन ४ गतेको संसद् बैठकमा एमसिसी टेबुल गर्नबाट पछि मात्र हटेन, शुक्रबारको बैठकमा पनि एमसिसी अघि बढाउन सकेन। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस