एमसिसीमा राष्ट्रिय सहमति नखोजिए स्थिति ‘भयानक’ हुने चेतावनी

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, २० : ५१
एमसिसीमा राष्ट्रिय सहमति नखोजिए स्थिति ‘भयानक’ हुने चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना (एमसिसी)मा राष्ट्रिय सहमति नखोजिए स्थिति ‘भयानक’ हुने चेतावनी दिएका छन्। गुरुङले कांग्रेसले सबै दललाई सहमतिमा नल्याई एमसिसी संसदमा टेबल गरे गठबन्धन दुर्घटनामा पर्ने चेतावनी दिए।

‘कांग्रेसले जुन किसिमले एमसिसी टेबल गर्नुपर्छ भनी दबाब दिइरहेको छ, एमसिसीका बुँदा संशोधन नगरी कांग्रेस जान खोजे गठबन्धन तोडिन सक्छ, सरकार अल्पमतमा पर्न सक्छ,’ सेतोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘त्यो गर्नु भनेको देशलाई दुर्घटनामा लैजानु हो।’ ‍गठबन्धनले साझा एजेन्डा तय गर्नुपर्ने र सबै कुरा छलफलबाट सहमति गर्नुपर्ने भन्दै गुरुङले एकल ढंगले कांग्रेस जान खोजे परिणाम राम्रो नआउने बताए।

‘हाम्रो पार्टीभित्र एमसिसीको विषयमा धारणा स्पष्ट छ, बुँदा संशोधन नगरी अगाडि बढ्न सक्दैन भनेर महाधिवेशनबाटै भनिसकिएको छ,’ उनले भने, ‘अध्यक्षलाई हामीले यो कुरामा अवगत गराइरहन पर्दैन।’ गुरुङले कांग्रेस तथा प्रधानमन्त्रीको चाहनाले मात्रै एमसिसी संसदमा टेबल हुन नसक्ने बताए।
 

प्रतिक्रिया दिनुहोस