स्पेनको मध्यकालीन क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, १४ : १०
स्पेनको मध्यकालीन क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ

एजेन्सी । हरेक वर्षको १७ जनवरीमा स्पेनको सान बार्टोलोम डी पिनार्समा एउटा अनौठो पर्व मनाइन्छ, जुन सुन्दा पनि जोकोहीको कपालको रौं ठडिन्छ । घोडा, गधा, खच्चड इत्यादि जनावर चढेर मानिसहरु बलिरहेको आगोमा हिड्छन्, जसलाई लास लुमिनरिज नाम दिइएको छ । 

आगोको ज्वालामाथि उफ्रदै दौडिने यो अनौठो पर्व पाँच सय वर्षअघि सुरु भएको थियो । सान बार्टोलोमी डी पिनार्स गाउँका मानिसहरु अझै पनि यस संस्कारलाई मनाउँदै आएका छन् ।

पर्वका दिन जम्मा गरेका रुखका हाँगाहरु स्थानीयले गोधुली साँझमा (सेन्ट एन्थोनीको पूर्वसन्ध्यामा) जलाउँछन् । ड्रम र स्पेनी ब्यागपाइपहरुको आवाजसँगै सवारकहरु गाउँमा जलिरहेको आगोमा हिँड्छन् । 

आगोको ज्वालामा हाम फाल्दा जनावालाई सेन्ट एन्थोनी अबडको कृपा मिल्ने विश्वास छ । अबड मध्यकालमा घरेलु जनावरको संरक्षक रहेको विश्वास गरिन्छ । आगोले जनावरहरुलाई पवित्र पार्ने र उनीहरुलाई रोग लाग्नबाट जोगाउने उनीहरुको विश्वास छ । 

‘यो संस्कार हजारौं वर्षदेखि चलेको हो । पाका धर्मगुरुले जनावरलाई आगोले आर्शिवाद दिन्छन, ताकि उनीहरु आगोमा हाम फाल्न सक्छन् र पवित्र हुन्छन्’, एक स्थानीय भन्छन् । यस्तो संस्कारमा सहभागी हुने जनावर कहिल्यै बिरामी नहुने उनको विश्वास छ । 

जनावरहरुलाई चरम यातना दिएको भन्दै पशु अधिकारवादीहरुले यस्तो  संस्कारको विरोध गर्दै आएका छन् । तर, बुल फाइटिङ, जनावरहरुलाई काट्ने जस्ता ‘क्रुर’  संस्कृति भएको स्पेनमा आगोमा जनावरलाई दौडाउने प्रथा छिट्टै अन्त्य नहुने धेरैको भनाई छ । 

‘यी जनावरहरुलाई आफ्नो इच्छा विपरित एउटा तनावपूर्ण अवस्थामा बाध्य पार्नुको कुनै तर्क छैन । यो संस्कार २१औं शताब्दीको मध्यतिरबाट सुरु भएको हो । यस्तो क्रुरतालाई कुनै विश्वास वा अन्धविश्वासले पुष्टि गर्न सक्दैन,’ अब्जरभेटरी अफ जस्टिस एन्ड एनिमल डिफेन्सका जुआन इग्नासिओ भन्छन् । आगोमा दौडाउँदा आफ्ना जनावरहरुलाई कुनै असर नगर्ने र जल्नबाट जोगाउन जनावरको रौं काटिदिने गरेको जनावरका मालिक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस