एमसिसी : तीन दलका शीर्ष नेता आआफ्नै अडान

पत्रपत्रिकाबाट

सोमबार, २४ माघ २०७८, ०७ : ५४
एमसिसी : तीन दलका शीर्ष नेता आआफ्नै अडान

काठमाडौं । प्रमुख तीन राजनीतिक दलले अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गर्ने विषयमा पुरानै अडान दोहोर्‍याएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको बैठकमा नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीका विषयमा आआफ्ना धारणा दोहोर्‍याएका हुन्।

प्रधानमन्त्री देउवाले एमसिसी मुलुकको आर्थिक विकासका लागि सहयोगी रहेको भन्दै संघीय संसद्को चालु अधिवेशनबाट त्यसलाई अनुमोदन गर्न एमाले र माओवादीका शीर्ष नेताहरूसँग सहयोग मागेका छन्।

सत्ता गठबन्धनका दलहरूबीच नै एमसिसीका विषयमा एकमत नदेखिएपछि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन्। एमसिसी पारित गर्ने अध्यक्ष दाहालको प्रतिबद्धताविपरीत प्रमुख सत्तासाझेदार माओवादी विपक्षमा उभिएको छ।

माओवादीका साथै नेकपा एकीकृत समाजवादी पनि एमसिसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले आइतबार आयोजित तीनदलीय बैठकमा एमालेसँग प्रस्ताव अनुमोदनका लागि सहयोग मागेका छन्। संसद्को आगामी बैठकमा उक्त प्रस्ताव अघि बढाउने संकेत प्रधानमन्त्री देउवाले गरेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस