प्रदेश १ मा मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १६ : ११
प्रदेश १ मा मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण

काठमाडौँं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश प्रमुख खापुङलाई आयोगका सदस्य  रेणुदेवी साहले  नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७/७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । उनले आयोगले आफ्नो दायित्व जिम्मेवारीपूर्वक निभाएकामा प्रशंसा व्यक्त गर्दै यस क्षेत्रको समस्यामा समाधानका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख कार्यालयका सचिव तुलसीराम सेढाईंले संविधानको मर्मअनुसार आयोगले प्रदेशस्तरीय प्रतिवेदन निर्माण गरेमा समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गरे । आयोगका सदस्यहरु रेणीदेवी र जीवछ साहले कर्मचारी र बजेटको अभावमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्न नसकेको बताउँदै आगामी दिनमा प्रदेशस्तरीय प्रतिवेदन निर्माण गर्ने, मधेस प्रोफाइल, डकुमेन्ट्री, रेडियो जिङ्गल र मधेसी थर सूचीकरण गर्ने सम्बन्धमा पालिकास्तरमा पत्राचार गरेको  जानकारी गराए । 

आयोगको प्रतिवेदनमा  आव २०७७/७८ मा  महिला हिंसा, घर झगडा, भ्रष्टाचार, खुल्ला सीमा, व्यापार लगायतका चार सय उजुरीमध्ये ४६ प्रकारका उजुरी समाधानका लागि कार्यान्वयनमा पहल गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस