अर्थमन्त्री हुँदा विष्णु पौडेलले आवश्वक नै नपर्ने अर्को टर्मिनलका लागि किन छुट्याए अर्बौ बजेट, चलखेलको आशंका

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, १० : ३०
अर्थमन्त्री हुँदा विष्णु पौडेलले आवश्वक नै नपर्ने अर्को टर्मिनलका लागि किन छुट्याए अर्बौ बजेट, चलखेलको आशंका

काठमाडौँ । बुटवलका विष्णु पौडेल एमालेको राजनीतिमा चर्चित नाम हो । सामान्य कार्यकर्ता भएर एमालेमा लागेपछि पार्टीका पदाधिकारीसंगै मन्त्री समेत भईसकेका छन् । बालुवाटार जग्गा प्रकरणमा जोडिएका उनको राजधानी स्थित भैँसेपाटीमा आलिशान बङ्गलासमेत छ । एमालेभित्र विष्णु पौडेल होइन, विष्णु अग्रवालका नामले समेत परिचित रहेका उनै पौडेलको अर्को हर्कत सार्वजनिक भएको छ । 

ओली गुटमा लागेका कारण सबै खालका आर्थिक अपराधमा छुट पाउँदै आएका पौडेलले राज्यलाई २० अर्बभन्दा बढीको भार पर्ने एउटा परियोजना अगाडि सार्न लगाएका छन् । भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक नै नपर्ने अर्को टर्मिनल बनाउन लगाई त्यसबाट मोटो कमिसन पड्काउने दाउमा उनको समुह लागिपरेको छ । पौडेलले नेपाल वायु सेवा निगमका जुनियर कर्मचारीका रूपमा रहेका प्रदीप अधिकारीलाई त्यसको एजेन्ट बनाएका छन् ।

विमानस्थलमा तत्काल एउटा मात्रै टर्मिनल भए पुग्छ । भारतले उडान तथा अवतरणमा हालसम्म अनुमति दिएको छैन । परीक्षण उडानका लागि आवश्यक तयारी भइरहेको छ । त्यसका लागि एरो थाईका अधिकारी विमानस्थल पुगेका छन् । उनीहरूले आवश्यक परीक्षण गरिरहेका छन् ।  सो विमानस्थलका लागि सरकारले हालसम्म २५ अर्ब खर्च गरिसकेको छ । यस्तै, एसियाली विकास बैङ्कबाट ६ अर्ब १३ करोड ऋण लिएको छ । सो विमानस्थलले राज्यलाई लाभ दिन्छ वा दिँदैन भन्ने कुनै निर्धारण भएको छैन । तर तत्काल प्रतिफल नआउने सो विमानस्थलको अर्को टर्मिनल बनाउने भन्दै पौडेल र अधिकारीलगायतले हर्कत सुरु गरेका छन् ।

टर्मिनल बनाउने भन्दै उनले प्राधिकरणका अधिकारीलाई चर्को दबाब दिएका छन् । आफूले भनेअनुसार काम नगरे भ्रष्टाचार गरेको आरोपमा अख्तियालाई भनेर तह लगाइदिने धम्कीसमेत पौडेल लगायतका समूहले दिएका छन् । प्राधिकरणका उच्च अधिकारीलाई पालैपालो फोन गर्दै र उनै निर्देशक अधिकारीमार्फत पनि दबाब दिइएको छ ।  काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा ठूलो टर्मीनल बनाउन लगाएर झण्डै २२ अर्ब रुपैयाँ पचाउने षड्यन्त्र गरिएको छ । टर्मिनल भवन, एप्रोन, बाहिरी पार्किङ बनाउने भन्दै आफू अनुकूलको ठेकेदार ल्याउने र २२ अर्ब पच पार्ने योजनामा पौडेललगायतको समूह लागेको प्राधिकरणका उच्च अधिकारीको भनाइ छ ।

सो बारेमा प्राधिकरणका निर्देशकसमेत रहेका प्रदीप अधिकारीलाई सोध्दा उनले त्यसमा विष्णु पौडेलको चासो रहेको स्वीकार गरेका छन् । योगेश भट्टराई र रवीन्द्र अधिकारी पर्यटन मन्त्री हुँदा मन्त्रालयमा रहेका प्रदीप अधिकारी यतिबेला विष्णु पौडेलको व्यापारिक साझेदारसमेत बनेको प्राधिकरणका उच्च अधिकारीले नै स्वीकार गरेका छन् । मिलेमतोमा लागत बढाउने र टर्मिनल भवन बनाउने भन्दै करदाताको पैसा हजम गर्न खोजिएको जानकारहरूको दाबी छ । सबै सेटिङ मिलाउने काममा प्रदीप अधिकारी लागेका छन् । उनले ठेक्काको कागजात बनाउनेदेखि शक्ति केन्द्रलाई मिलाउने जिम्मा समेत लिएका छन् । २२ अर्ब लागत नै नलाग्ने उक्त संरचना बनाउनका लागि झन्डै दोब्बर लागत बनाइएको छ । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत विमानस्थल निर्माणमा नै समस्या भएको भन्दै संसदीय समितिमा प्रश्न उठाएका थिए । उनले विष्णु पौडेल पसेपछि सबै क्षेत्रमा समस्या आउने भन्दै कुनै पनि हालतमा गलत काम गर्नेलाई छुट दिन नहुने बताएका थिए । उनै पौडेलको चासोअनुसार नै चालू आवको बजेटमा समेत दोस्रो टर्मिनल भवन बनाउने भन्दै स्रोत नै उल्लेख नगरी ३ अर्ब ५३ करोड बराबरको बजेट राखेका छन् । 

बजेट बनाउने समयमा अर्थमन्त्री रहेका पौडेलको विशेष चासो रहनुको पछाडि त्यसबाट आउने मोटो कमिसन नै रहेको श्रोतको दाबी छ । भैरहवामा नयाँ टर्मिनल भवन चाहिने भए पनि हाल नै आवश्यक भइहालेको अवस्था छैन । तर यो योजनामा जबरजस्ती गर्नुको पछाडि बालुवाटारको आठ आना जग्गा जस्तै रहेको जानकारहरू उल्लेख गर्छन् ।  विमान पार्किङका लागि एप्रोन नबनाउने, पार्किङ स्थल नबनाउने तर टर्मिनल भवन नै किन बनाउन खोजियो त ? कुरा प्रष्ट छैन र ? प्राधिकरणका एक पूर्वमहानिर्देशक भन्छन्, त्यसमा विष्णु पौडेलको चासो छ ।

विमान पार्किङका लागि कुनै चासो नराख्ने तर टर्मिनल भवन मात्रै बनाउने कुरा आफैँमा विमानस्थल धेरै समय चलाउने भन्ने नै नरहेको देखिन्छ । अर्थमन्त्रालयमार्फत हुनुपर्ने काममा समेत प्रदीप अधिकारी आफै जान्ने भएर पत्र लेख्ने, पत्राचार गर्ने पाइएको खुलेको छ । कूल लागत ९७ मिलियन भए पनि अधिकारीले १९० मिलियन लाग्ने भन्दै पत्र लेखेका थिए । एडीबीले आयोजनाको बारेमा चासो राख्दै अर्थमन्त्रालयसँग सोधेपछि अधिकारीको बदमासी सार्वजनिक भएको हो । तत्कालीन पर्यटन सचिव यादवप्रसाद कोइरालाले त अधिकारी किन जान्ने भएको भन्दै स्पष्टीकरण नै सोधेका थिए । अधिकारीले विष्णु पौडेलले गर्नु भनेकाले आफूले गरेको भन्दै सचिव कोइरालालाई स्पष्टीकरण दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस