काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, १४ : ०२
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ ।काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए । सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए । उनले भने, ‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्धत गरिरहेको र यसलाई न्यूनिकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो । यसका साथै अत्यावश्यक काममा हिडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ । तथापी संक्रमणको यो स्तरको वृद्धि हुँदापनि सामाजिक रुपमा त्यसले अझपनि मानिसहरुको आवत्जावत्, हिडडुल, भीडभाड अझपनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरुको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मक्सद हो ।’

सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे । यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए । सवारी साधनको चापका कारण भीडभाड न्यूनिकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए । सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे । उनले भने, ‘अत्यावश्यक काम पर्ने, उपचारका लागि जाने, अत्यावश्यक सेवा प्रवाहको लागि जानेको हकमा चाहीँ समस्या छैन । त्यस विषयमा हामी छलफल पनि गर्दैछौँ । अन्य हिडडुल गर्ने, घुमफिर गर्ने, बजार घुम्ने, यो बेलामा आवश्यक छैन , यो बेलामा गतिविधि नर्गदा पनि हुनेखालका गतिविधि पनि सवारी साधनको चापसँगै भीडभाड न्यूनिकरण नभएको अवस्था विद्यमान छ । उपलब्धताले नै मानिसहरुको भीडभाड अझ वृद्धि भएको भन्ने नै हो । जति सवारी साधन भए त्यति मानिसहरुको चहलपहल अझै बढ्दै गएको र संक्रमणको वृद्धि यो स्तरसम्म आइपुगेको छ है भन्ने अझपनि मानिसहरुमा धारणा नबनिसकेको देखियो । त्यसकारण अत्यावश्यक काममा हिड्ने नागरिकहरुलाई अहिलेपनि अप्ठ्यारो, बाधा छैन । सवारी साधनको सिमिततालाई भीडभाडजन्य गतिविधिमा निरुत्साहन हुन्छ, नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो ।’

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाई छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे । 

  

प्रतिक्रिया दिनुहोस