राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार सहभागी हुन पाउने

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, २० : २२
राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार सहभागी हुन पाउने

काठमाडौं । यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्।

निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी व्यवस्थित र सुरक्षित रुपबाट मतदान तथा मतगणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। उम्मेदवार वा मतदाता मध्ये कोही संक्रमित भएको खण्डमा पनि निश्चित मापदण्डका आधारमा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए।

मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था मिलाइने आयोगले जनाएको छ। मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्न आयोगले भनेको छ।

प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नुअघि तापक्रम जाँच गर्ने व्यवस्था मिलाइने भएको छ। तापक्रम जाँच गर्दा मतदान केन्द्रमा खटिने स्वास्थ्यकर्मीले प्रत्येक मतदातालाई पछिल्लो १४ दिन यता ज्वरो वा रुघाखोकी वा अन्य कोभिड–१९ को लक्षण देखिएको छ्छैन बुझी मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ सङ्क्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउन आयोगले भनेको हो।

मतपत्र दिने कर्मचारीले मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्नेछ। उक्त मतदाताले ल्याप्चे लगाउने भएमा ल्याप्चे लगाइसकेपछि टिस्यु पेपरले हात सफा गरी उक्त टिस्यु पेपरलाई फोहोर टोकरीमा हाल्न र हातलाई स्यानिटाइजर प्रयोग गर्न समेत आयोगले अनुरोध गरेको छ।

निर्वाचनमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबैसरोकारवालाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आयोगले बिहीबार निर्देशन जारी गरेको हो।