खोप अभियान सञ्चालन गर्न विद्यालय खोल्ने सरकारको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०४ माघ २०७८, १९ : ५०
खोप अभियान सञ्चालन गर्न विद्यालय खोल्ने सरकारको निर्णय

काठमाडौँ  । सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप अभियान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसीसी०ले विद्यालयमा कोभिड खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गृहमन्त्रालयमा बसेको केन्द्रको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणसहित केन्द्रका पदाधिकारी सहभागी थिए । बैठकले यसअघि बन्द गरिसकिएका विद्यालयहरु खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म खुलाउने निर्णय गरेको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए । ‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालयमा कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौं,’ कोइरालाले भने, ‘हामीले निर्णय गरेका छौं, सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस