प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ?

सफल खबर संवाददाता

सोमबार, ०३ माघ २०७८, २० : २४
प्रदेश १ ले कहिले पाउला नाम र राजधानी ?

काठमाडौँ । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ ।  प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । 

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश नामविहीन भएको छ । 

सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्कदा प्रदेश १ को भने नामाकरण हुन सकेको छैन । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामाकरण हुन सकेको छैन । 

देश संघीय प्रणालीमा गएपछि प्रदेश सभामध्ये तत्कालीन प्रदेश ६ ले सबैभन्दा पहिला राजधानी र नाम टुंगो लगाएको थियो । उसले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो । त्यसपछि प्रदेश चारले आफ्नो नाम गण्डकी र राजधानी पोखरा कायम भएको थियो ।

त्यसपछि प्रदेशन ७ को प्रदेश सभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो । प्रदेश ३ ले आफ्नो नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेको थियो । त्यस्तै, प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस